आईतवार देखि सियारी गाउँपालिकाको आफ्नै भवनबाट सेवा सुरु हुने

by समतल अनलाइन

रुपन्देही ।रुपन्देहीको सियारी गाउँपालिकाले नयाँ भवनबाट कार्यसम्पादन गर्ने भएको छ । वडा नं. ३ को हर्नैयामा आफ्नै भवन निर्माण सम्पन्न गरी सेवाग्रहीलाई आईतबार देखि नयाँ भवनबाट सेवा दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सविक हर्नैया गा.वि.स, विद्यालय र स्वास्थ्य चौकीको भवन प्रयोगगरी हालसम्म सेवा दिइरहेको थियो । गाउँपालिकाको भवन पुरानो, सानो र एकै ठाउँ गाउँपालिकाको शाखा नरहेकाले सेवाग्राहीलाई सेवा दिन गाह्रो भैरहेको छ । नयाँ भवनबाट सेवा दिन थाले पछि सेवाग्राहीलाई सेवा दिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । गाउँपालिकामा विकास निर्माणका कार्य तिब्र गतिमा भैरहेकोले समृद्ध गाउँपालिका बन्नेमा ढुक्क हुन सबैलाई उहाँले आग्रह समेत गर्नु भयो ।

चुनावमा गरेको प्रतिवद्धता अनुसार जनप्रतिनिधीहरुले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो । राम्रो काममा सबैको सहयोग हुनु पर्ने उहाँको भनाई छ ।

पाँच करोड ८५ लाख ८६ हजार तीन सय छ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो ।

आज भवनको वैदिक परम्परा अनुसार पुजा गरि प्रवेश गरिएको छ । पुजा सम्पन्न गरिए पछि आईतवार देखि गाउँपालिकाको सेवा नयाँ भवनबाट दिईने छ । गाउँपालिका भवनको पर्खाल निर्माण गरिसकेपछि एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ ।

 

 
 
  
 

You may also like