ओलीलाई प्रचण्डको प्रश्न : राजीनामा दिन्नँ भन्दै हुनुहुन्छ, कसले माग्यो तपाईको राजीनामा ?

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटार भेटवार्ता सकिएको छ ।

झण्डै तीन घण्टा भएको छलफल विना निष्कर्ष सकिएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै अध्यक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि सहमति बन्न नसकेको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमन समेतलाई लिएर नेकपाभित्र विवाद हुँदै आएको छ ।

यहि विषयमा नेकपाका दुई अध्यक्षबीचको सम्बन्ध चिसिएको छ । जसका कारण नेकपा फुटको संघारमा पुगेको स्वयम नेकपाकै नेताहरुले बताइरहेका छन् । बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भए पनि विवाद समाधान हुने गरी कुनै पनि प्रगति नभएको स्रोतले जानकारी दिएको छ ।

भेटमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग पार्टीभित्र कसले राजीनामा मागेको छ र ? बाहिर बाहिर राजीनामा दिन्न भनेर भन्नु भएको ? भन्दै प्रश्न गरेका थिए ।

दाहालले मदन भण्डारी फाउण्डेसनको नाममा गुटको भेला बोलाएको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि पोखेका थिए । त्यसको जवाफमा ओलीले आफूले गुटको भेला गरेको नभई दाहालले नै बाहिर–बाहिर भेला बोलाएर गुट चलाएको आरोप लगाएका थिए ।

आजको छलफल दुई अध्यक्षबीच तिक्ततापूर्ण रहेको स्रोतले जनाएको छ । अध्यक्ष ओली ‘तपाईहरु षडयन्त्रमा लाग्नु भएको छ, म त्यसको सामना गर्छु’ भन्ने शैलीमा प्रस्तुत भएको स्रोतले जनाएको छ ।

बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यान्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको वैठकमा पार्टी र सरकारमा जुनसुकै बेला संकट आउन सक्ने भएकाले यसको सामना गर्न तयारी अवस्थामा बस्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद र प्रचण्डसँगको बिग्रिएको सम्बन्धका कारण सहमतिमै अलगिने अभिव्यक्ति दिएका छन् । तर, दोस्रो पुस्ताका नेताहरुले दुई अध्यक्षलाई संवाद र सहमतिमा आउन आग्रह र दवाव दिंदै आएका छन् । तर, ओली–प्रचण्डबीच एकले अर्कोलाई दोष लगाउने काम रोकिएको छ ।

 
 
  
 

You may also like