काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।
कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको आज (बुधबार) बिहान मृत्यु भएको हो । कात्तिक १५ गतेदेखि भेन्टिलेटर उपचाररत उनको आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ । सीता महरा माइस्थेनिया रोगबाट १० वर्षदेखि पीडित थिइन् ।
। दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । महरा सभामुख रहेका बेला प्रेस सल्लाहकार रहेका डिल्ली मल्लले भने, ‘माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि उहाँले कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नु भएको थियो ।’