बुटवल । गएराति झण्डै ५ घण्टा आएको मुसलधारे वर्षाले रुपन्देहीका बिभिन्न स्थानहरुमा केहि घर बगाएको छ भने बुटवल पाल्पा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिकामा ४ वटा घर बाढीले बगाएको छ । चौरङ्गे खोलामा आएको बाढीले देवदह १० का रामबहादुर श्रेष्ठको १ तले घर बगाएको छ भने उनको २ बाख्रा, ४ कुखुरा लगायतको धनमान बगाएको छ ।
तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको छ । तिलोत्तमा ८ को सत्कुलो नहरको पानीको बहाव बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।
यता, बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा पनि सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, केहि बाख्राको खोर र केहि सवारी साधन बगाएको स्थानीयबासीले बताएका छन् ।
मध्यरातिबाट बिहानसम्म प्रहरीहरु उद्दारमा खटिएका कारण घटनाको सम्पूर्ण बिवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पु¥याएको खबर प्राप्त भएको छ ।
अविरल वर्षाकै कारण बुटवल पाल्पा खण्डको आधा दर्जन बढी स्थानमा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ । तिनाउ गाँउपालिकाको चरचरे, पावरहाउस, पानीमिल सहित गौडेको पुल नजिकै पहिरो खसेर सडक पूर्ण अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा भने एकतर्फी सडक सुचारु रहेको छ ।बुटवल क्षेत्रमा गयरातिआएको वर्षा विगत केहि वर्ष देखिकै ठुलो वर्षा भएको स्थानीयले बताएका छन् ।