काठमाडौं।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षका पुरुष र मोरङको कानेपोखरी– १ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।
डा सापकोटाका अनुसार सप्तरीका ७० वर्षका पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण लिएर गजेन्द्र नारायणसिंह अस्पताल राजविराजबाट वीपी प्रतिष्ठानमा रेफर गरिएको थियो । उनमा भदौ २५ गते जगेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।
उनलाई भदौ २८ गते राती वीपी प्रतिष्ठानमा भर्ना गरिएकोमा असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षका पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए ।
उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राती ८ बजेर ३० मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।