आजको मौसम : देशभर बर्षा, पश्चिम र मध्य क्षेत्रमा अति ठूलो पानी पर्ने

काठमाडौं। मनसुनका बेला पनि केहि दिनयता कम मात्रामा पानी पर्दा केहि राहत मिलिरहेका बेला फेरि मौसम बिग्रिएको छ ।नेपालमा फेरि मनसुन सक्रिय हुँदै गएकाले देशभर बर्षा हुने मौसमविदहरुले जानकारी दिएका छन् । मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै उनले तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन आग्रह गरेकी छिन् ।आज प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको अर्का मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

यस्तै राति प्रदेश–१, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश–२ र वाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको उनले जानकारी दिए । आज र भोलि झरी परे पनि पर्सी दिउँसोदेखि भने पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ ।
यसैबीच कैलाली, कञ्चनपुर र बर्दियाको धेरै ठाउँमा निकै ठूलो पानी परेकाले टीकापुर आसपासको क्षेत्र डुबानको उच्च जोखिम परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली र चौधर नदीको तटीय क्षेत्रका बासिन्दाले उच्च क्षेत्रमा बस्न आग्रह गरेको छ ।
कर्णालीको चिसापानीमा १०४ मिलिमिटर र कैलालीको टीकापुरमा १०२.४ मिलिमिटर वर्षा भएको छ । यो गत १२ घण्टा (शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) को मापन हो ।
मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथिकोलाई अति भारी वर्षा भनिन्छ । यस्तै बितेको १२ घण्टामा धनगढीमा ९०.६ मिलिमिटर वर्षा भएको मौसमविद् प्रधानाङ्गले जानकारी दिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा शनिबार राति ११ बजेदेखि निरन्तर वर्षा भइरहेको उनले बताए । बिहान साढे ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २३.२ मिलिमिटर वर्षा भएको छ । वर्षा अझै केहीबेर जारी रहने मौसमविद् प्रधानाङ्ग बताउँछन् । तर पुनः अपराह्नबाट फेरि वर्षा हुने सम्भावना छ । अहिले बिहान काठमाडौं उपत्यकासहित देशका सबै प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौमस पूर्वानुमान

 
 
  
 

You may also like