संघ–संस्थाहरुसंग सहकार्य गर्दै अभियान थाल्ने ट्राफिक प्रहरीको तयारी

बुटवल ।ट्राफिक व्यवस्थापन सुधार गर्न संघ–संस्थाहरुसंग सहकार्य गरी अघि बढ्ने ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले बताएका छन् । प्रदेश पाँचको राजधानी रुपन्देहीसहित प्रदेशमा लकडाउनको अवधिमा समेत धेरै दुर्घटना बढ्नु चिन्ताजनक भएको भन्दै दुर्घटना न्युनीकरणमा सबै लाग्नुपर्ने उनले बताए ।

लकडाउन अवधिमा ४ सय ३१ सवारीबाट ३ सय २७ दुर्घटनाको भएको र जसमा ९६ जना मानिसको मृत्यु तथा ४ सय ५५ जना घाइते भएको उनले बताए । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ३२ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीसंगै सरोकारवालाहरु यस विषयमा संवेदनशील हुनुपर्ने बताए ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ विरुद्ध आम नागरिकलाई सचेतना जगाउने काममा संघ–संस्थाहरु लाग्नुपर्ने बताए । लकडाउन खुलेसंगै अब दुरी कायम र मास्क प्रयोगलाई ध्यान दिनुपर्ने उनले बताए ।

ट्राफिक प्रहरीमार्फत आम नागरिकलाई सचेतना जगाउन ५ सय थान मास्क ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्मालाई क्लबका अध्यक्ष ज्ञवालीले हस्तान्तरण गरेका छन ।

कार्यक्रममा पूर्वअध्यक्ष बालकृष्ण अर्याल, नबिन श्रेष्ठ, सम्मानित सदस्य भुवनसिंह विश्वकर्मा, पत्रकार दामोदर खनालले दुर्घटना न्युनीकरणका लागि नयाँ योजना ल्याउने सुझाव दिएका थिए ।

 
 
  
 

You may also like