बुटवलबाट प्रकाशित ‘जनसंघर्ष’ ३१ औं वर्षमा प्रवेश

बुटवल । नेपाली पत्रकारिता जगतको ज्योतिपुञ्जको रुपमा स्थापित एवं विगत ३० वर्षदेखि अनवरतरुपमा प्रकाशित भई आएको ‘जनसंघर्ष’ आज असार ०९ गतेदेखि सगौरव ३१ औं वर्षमा प्रवेश गरेको छ ।जिल्ला प्रशाासन कार्यालय रुपन्देहीमा आ.व. २०४६÷०४७ दर्ता नं. १९ रहेको जनसंघर्षले आफ्नो प्रकाशन यात्राका ३० वर्ष सफलतापूर्वक पूरा गरी यही असार ९ गतेदेखि सगौरव ३१ औं वर्षमा प्रवेश गरेको हो ।
जनसंघर्षका संस्थापक सम्पादक तथा प्रकाशक बालकृष्ण चापागाईंले एक प्रेस विज्ञप्ति जारी गरी यस अवधिमा ‘जनसंघर्ष’ अधिक समय दैनिक प्रकाशित भएको बताउँदै पत्रकारितालाई नयाँ ढाँचा र स्वरुपमा अगाडि बढाउने सिलसिलामा साप्ताहिक प्रकाशनका रुपमा आफूलाई प्रस्तुत गरी पत्रकारिताको अविछिन्न यात्रालाई अगाडि बढाएको बताउनु भएको छ ।

विज्ञप्तिमा जुनसुकै आकार, प्रकार,ढाँचा या स्वरुपमा प्रकाशित भएतापनि ‘जनसंघर्ष’ नेपाली पत्रकारिता जगतमा चम्किलो ताराको रुपमा आम पाठकका बीचमा स्थापित भएको चर्चा गर्दै यसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको प्रगतिशील यात्रामा आफूलाई दरिलो रुपमा प्रस्तुत गरेको छ भनी उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उहाँले जनसंघर्षले राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै परिवर्तित सन्दर्भमा यसले आफ्नो मिसनलाई समय सापेक्ष बनाउदै अगाडि बढ्ने कोशिस गरिरहेको बताउनु भएको छ ।

विज्ञप्तिमा पछिल्लो समयमा जनसंघर्षले विश्वशान्ति र समृद्धिको संवाहकको रुपमा आफूलाई प्रस्तुत गरिरहेकोे चर्चा गर्दै न्याय, समानता र स्वतन्त्रतालाई आफ्नो आदर्श र गन्तव्यका रुपमा आत्मसात गरी निरन्तर अगाडि बढ्ने अठोट गरेको जनाइएको छ ।
संस्थापक सम्पादक तथा प्रकाशक चापागाईंले यहाँसम्मको यो गौरवशाली एवं चुनौतीपूर्ण यात्रामा सारथी बनेर योगदान दिनुहुने सबै महानुभाव एवं शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा आगामी दिनमा यहाँहरुको न्यानो माया, सहयोग र हौसलाबाट अझै सशक्त भएर दृढ विश्वासका साथ अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

 
 
  
 

You may also like