नेपालगञ्जमा आज थप सात जनालाई कोरोना, संक्रमितको संख्या ८२ पुग्यो

संक्रमित २३ पुगेपछि नेपालगञ्ज निषेधित क्षेत्र घोषित, तीन दिन घर बाहिर निस्कन निषेध
नेपालगञ्ज । नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालगञ्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

संक्रमित २३ पुगेपछि नेपालगञ्ज निषेधित क्षेत्र घोषित, तीन दिन घर बाहिर निस्कन निषेध
नेपालगञ्ज उपमहानगरपालिकालाई आज (मंगलबार) देखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरस संक्रमित बढ्न थालेपछि सोमबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यराति १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् ।

सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्ति बाहेक अरुलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने उनले जानकारी दिए ।

बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णय समेत गरेको छ ।

नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना पुष्टि भएपछि थप कडाइ गरिएको छ । गत शुक्रबार र आइतबार गरी नेपालगञ्जमा १६ जनामा कोरोना देखिएको थियो । यसैबीच कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरुले पनि सतर्कता अपनाएका छन् ।

लकडाउन कडा बनाउनुका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन पालिकाहरुले सूचित गरेका छन् ।

 
 
  
 

You may also like