महिलाको नेतृत्वमा रहेका देश कोरोना नियन्त्रणमा सफल

काठमाडौँ । विश्वभर कोरोना महामारी बनिरहेका बेला महिलाले नेतृत्व गरेका देशमा तुलनात्मक रुपमा कोरोना नियन्त्रण भएको देखिएको छ ।विश्वभर एक लाख २६ हजारले कोरोनाका कारण ज्यान गुमाउदा महिलाले नेतृत्व गरेका ताइवान, जर्मनी, न्युजील्याण्ड, फिनल्याण्ड, आइसल्याण्ड जस्ता देशमा कोरोना तुलनात्मक रुपमा नियन्त्रणमा रहेको देखिएको हो ।

चीनले आफ्नो भूभाग दाबि गर्ने ताइवान कोरोना बारे तुरुन्तै सजक हुने पहिलो देश भएको खुलासा भएको छ । हालै ताइवानले गत डिसेम्बरमा रहस्यमयी भाइरस देखिएको बारे विश्व स्वास्थ्य संगठनलाई लेखेको पत्र सार्वजनिक भएको छ । तर विश्व स्वास्थ्य संगठनले ताइवानलाई चीनकै भाग भनेर छुट्टै देशको मान्यता नदिदै सो पत्र बारे कुनै जवाफ नदिएको देखिएको छ । ताइवानमा रह्स्त्रप्ति ट्साई इंग वेन राष्ट्रपति रहेकी छन् । शुरुमै सजक रहेका कारण ताइवानमा कोरोना नियन्त्रणमा नै रहेको देखिन्छ ।

ताइवानमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने ३९३ जना संक्रमित भएका छन् । त्यस्तै १२४ जना ठिक भएका छन् ।

त्यस्तै महिला नेतृत्व भएको अर्को देश जर्मनीमा पनि संक्रमितको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या कम देखिएको छ । यसका लागि जर्मनीको स्वास्थ्य व्यवस्थालाई जस दिइएको छ । एंगेला मार्केलको नेतृत्वमा रहेको जर्मनीमा अहिले सम्म एक लाख ३२ हजार संक्रमित भएपनि ३ हजार ४९५ जनाको मृत्यु भएको छ । जुन अन्य देशको तुलनामा निकै कम हो ।

जर्मनी कोरोना धेरै टेस्ट गर्ने देशमा सबैभन्दा अगाडी रहेको छ । जर्मनीमा हरेक साता साढे तीन लाख टेस्ट भएका छन् ।

त्यस्तै अहिले न्यूजील्याण्डकी प्रधानमन्त्री जसिंदा आर्डेर्न पनि कोरोना नियन्त्रणमा उनले गरेका निर्णयका कारण चर्चामा रहेकी छन् । उनले न्युजील्याण्डलाई चार साताको लकडाउन घोषणा गरेर संक्रमित हुनबाट बचाएकी छन् ।

न्युजील्याण्डमा अहिलेसम्म १३ सय ६६ संक्रमित भएपनि केवल ९ जनाले ज्यान गुमाएका छन् । प्रधानमन्त्री जसिंदाले कोरोना तुरुन्तै कन्ट्रोल नहुने भन्दै आम जनतालाई लकडाउनको पालना गरिरहेको बताएकी छन् ।

त्यस्तै युरोपको महिलाले नेतृत्व गरेको अर्को देश फिनल्याण्डमा ३४ बर्षिय सन्ना मारिन प्रधानमन्त्री रहेकी छन् । ५५ लाख जनसंख्या भएको फिनल्याण्डमा अहिलेसम्म ३ हजार १६१ संक्रमित भएका छन् भने ६४ जनाको मृत्यु भएको छ ।

तुलनात्मक रुपमा कोरोना नियन्त्रणमा रहेको फिनल्याण्डमा प्रधानमन्त्रीले लिएका निर्णयको प्रसंशा भएको छ । समयमा सहि निर्णय नलिएका कारण छिमेकी देश स्विडेनले ठुलो संख्यामा ज्यान गुमाएको अवस्थामा फिनल्याण्डमा अहिलेसम्म कोरोना धेरै हदसम्म नियन्त्रणमा देखिएको छ ।

त्यस्तै युरोपको अर्को देश आइसल्याण्डमा पनि महिला प्रधानमन्त्री कट्रिन जाकोबसडोत्तीर रहेकी छन् । कोरोना संक्रमण फैलिन शुरुवात हुनासाथ आइसल्याण्ड सरकारले आवश्यक कदम उठाएको बताइएको छ । आइसल्याण्डमा अहिलेसम्म १७ सय २० जना संक्रमित भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । व्यापक रुपमा गरिएका टेस्ट र समयमै शंकास्पदलाई आइसोलेट गरिएका कारण केवल ३ लाख ६० हजार जनसंख्या भएको सानो देश महिलाको नेतृत्वमा कोरोना नियन्त्रण गर्न सफल भएको छ ।

विश्वभर कोरोनाबाट अहिलेसम्म एक लाख २६ हजार ५३७ जनाको मृत्यु भएको छ भने १९ लाख ९५ हजार ९४७ जना संक्रमित भएका छन् ।

 
 
  
 

You may also like