सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण, १५ सय जना त्रासमा

  • संक्रमितसँगै दोहाबाट आएका थिए १५३ जना, सम्पर्कमा आउन आग्रह

काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएकका एउटै परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अपार्टमेन्टमा बस्दै आएकाहरु त्रसित बनेका छन् ।

एउटै अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका
झण्डै ५१० परिवारका १५ व्यक्तिमा त्रास छाएको छ । अहिले उनीहरु कडा क्वारेन्टाइनमा बसिसकेका छन् । अपार्टमेन्टका परिवार मात्र होइन आसपासका बासिन्दा पनि त्रास छाएको स्थानीयले जानकारी दिएका छन् ।

सनसिटी अपार्टमेन्ट
गएको ५ गते बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारी अपार्टमेन्टको ‘ए’ ब्लकको १४ औं तल्लामा बस्दै आएका थिए । अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोराना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तर ५२ वर्षीया बुहारीमा भने कोरोना संक्रमण देखिएको छैन । अपार्टमेन्टमा ६ वटा ब्लकहरू रहेका छन् ।

संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार बस्दै आएको पाइएको छ । एउटै ब्लक बस्ने सबैले एउटै लिफ्ट प्रयोग गर्थे । संक्रमित परिवारकाले तल कम्पाउण्डमा ओर्लनुका साथै विभिन्न काममा गेटबाट बाहिर पनि निस्किने गरेको थिए । उनीहरु घरमा पालिएका कुकुर लिएर तल कम्पाउण्डमा डुल्ने गर्थे ।

हिजो राति नै त्यहाँ दुई जनामा कोरोना संक्रमणको आशंका भएपछि कसैलाई पनि बाहिर निस्किन दिइएको छैन । अहिले अपार्टमेन्टभित्र स्यानिटाइज गर्ने काम भइरहेको छ । सबै आफ्नो कोठाबाट झ्यालबाट बाहिर नियालिरहेका छन् । अपार्टमेन्ट बाहिर सानो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

‘यहाँ बस्नेहरू सबै जना मानसिक त्रासमा हुनुहुन्छ । तर, प्रहरी र स्थानीय तहले राम्रोसँग अनुगमन गरिरहनु भएको छ’, सनसिटी अपार्टमेन्टमै बस्दै आएकी नायिका बेनिशा हमालले सुनाइन् ।

संक्रमणको त्रासका कारण अहिले अपार्टमेन्टका परिवारलाई आवश्यक उपभोग्य सामग्री खरिदमा समेत समस्या थपिएको छ । तर, अपार्टमेन्टमा बसेका सबैको सूची माग गरी सुरक्षित रुपमा उपभोग्य वस्तु पुर्‍याउनेबारे छलफल शुरु भइसकेको प्रहरीले जनाएको छ ।

संक्रमितसँगै दोहाबाट आएका थिए १५३ जना, सम्पर्कमा आउन आग्रह

कोरोना पुष्टि भएका आमा–छोरासँगै दोहाबाट कतार एयरवेजमा १५३ यात्रु आएको पाइएको पाइएको छ । उनीहरु बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका थिए । कतारको दोहाबाट क्यूआर ६४४ विमानमार्फत मार्च १७ अर्थात् चैत ४ गते उनीहरु नेपाल आएको विमानस्थलले जानकारी दिएको छ ।

उनीहरुसँगै नेपाल फर्किएका १५३ यात्रुको मंगलबारबाट खोजी थालिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले जनाएका छन् । दोहाबाट मार्च १७ मा उक्त विमानमार्फत आएका यात्रुलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ । यसअघि नेपाल प्रहरीले ५ वटा विमानका यात्रु खोजी गरेको थियो ।

 

 
 
  
 

You may also like