भारतमा कोरोना : एकै दिन १० को मृत्यु, ज्यान गुमाउने ४५ पुगे

भारतीय आप्रवासी कोरोनाको त्रासले सयौं माइल हिंडेर घर पुग्दै

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट आज (बुधबार) एकै दिन १० जनाको ज्यान गएको छ ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट एक हजार ५९० जना संक्रमित भइसकेका छन् ।

भारतीय आप्रवासी कोरोनाको त्रासले सयौं माइल हिंडेर घर पुग्दै
उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए ।

उनीहरु विभिन्न समूहमा छन् र केही आ –आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए ।
कतिपय बृद्धबृद्धा छन् त कति स–साना केटाकेटी । केही मात्र त्यो समूहमा युवा युवती छन् । महिला र पुरुष बराबारी छन् । उनीहरु त्यो मरुभूमिको बाटोमा हिंडिरहेका छन् ।

कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन् । अनि युवा युवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छन् । भारतका ठूला शहरहरुमा काम गर्ने मजदुर आप्रवाशीहरु ती शहरहरु कोरोना भाइरसको त्रासका कारण बन्द भएपछि यति लामो बाटो हिंडेर आफ्नो घर फर्किँदै छन् ।

शहरमा मजदुरी काम गर्दै आएका उनीहरु शहरमा सरकारले ‘लकडाउन’ गरेपछि उद्योग कारखाना पनि बन्द भए । त्यसपछि कामबिहीन बनेका उनीहरु सयौं माइल हिंडेर गाउँघरमा फर्किदै छन् ।
उनीहरु आफै पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन् । उनीहरुले शहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन् ।

भारत सरकारले २१ दिने भारत बन्दको घोषणा गरेको छ । यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ । सामान्य रुपमा बिहान बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्ने बाहेक भारतमा पसलहरु पनि खुलेका छैनन् ।

विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्न लगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ ।

यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौँ भारतीय नागरिकलाई ठूलो मार परेको छ । बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौँ नागरिकले बिहान बेलुकी खानाको समस्यामा पनि पर्नसक्ने बताइएको छ ।

यसरी शहरबाट ती नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन् । यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्बाउने हो भने यहाँ यस्तो मजदुर बर्गमा ठूलो समस्या ल्याउने बताइन्छ । रासस–एपी

 
 
  
 

You may also like