चीनमा फेरि संक्रमण

काठमाडौं। बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ । देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ ।

मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन् । नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो । योसँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ ।

यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन् । सबैभन्दा बढी बेइजिङमा छन् । सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो । बेइजिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित केसको संख्या १३८ पुगेका छन् ।

पछिल्लो अवस्थामा यी आयातित कोरोनाभाइरस सङ्क्रमणले चीनलाई चिन्तित बनाएको छ । सोमबार आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ । योसँगै बेइजिङले बुधबारबाटै बेइजिङ प्रवेश गर्ने सबैको अनिवार्य न्यूक्लिक एसिड टेस्ट गर्ने जनाएको छ । यसअघि ज्वरो आएको अवस्था र केही लक्षण देखिएको खण्डमा परीक्षण गरिँदै आएको थियो ।

यसै गरी गत शुक्रबारदेखि बेइजिङका लागि उडेका विमानहरूलाई अन्य सहरमा अवतरण गराइ त्यतै जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ । त्यसअघि मार्च १६ सोमबारबाट बेइजिङ उत्रेका सबैले स्वखर्चमा तोकिएको स्थानमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।

सो नियमअघिसम्म बेइजिङ फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो । यसरी बाहिरबाट आएका चिनियाँहरूमा देखिनसक्ने कोरोना भाइरस संक्रमण र यसबाट हुने सम्भावित प्रसार रोक्न पनि चीनले उल्लेखनीय कदम चालिरहेको छ ।

हालसम्म बेइजिङमा आयातित १०७ केससँगै कूल ५२२ जना संक्रमित भएका छन् । तीमध्ये ४०० जना निको भइ फर्किसकेका छन् भने ८ को मृत्यु भएको छ । यसका साथै जनवरी २४ तारिखदेखि बन्द गरिएका बेइजिङका पार्कहरू, चिडियाखाना, ग्रेटवाल तथा पर्यटकीय स्थलहरू धमाधम खोल्न थालिसकेका छन् । स्थानीय सञ्चार माध्यमले सोमबार बेइजिङको सडकमा देखिएको ट्राफिकले बेइजिङ पूर्ववत् अवस्था पुगेको जनाएको छ ।

हाल चीनभरि नै स्थिति सामान्य बन्दै गएको छ । धेरै क्षेत्रका शिक्षण संस्थाहरू खोलिसकेका छन् यसै गरी कोरोनाभाइरसको इपिसेन्टर मानिएको उहान र हुपै प्रान्तमा समेत कलकारखाना सञ्चालनमा आइसकेका छन् । यतिबेला नेपालमा देखिएका केश पनि आयातित नै छन् । त्यसैले चीनको अनुभवबाट नेपालले सिकेर आफ्नो तयारी अघि बढाउन र नागरिक पनि त्यसमा तयार हुन आवश्यक छ ।

उहानको लकडाउन छिटै खोलिने

कोरोना भाइरसको इपिसेन्टर मानिएको उहानको लकडाउन खोल्ने तयारीमा चीन रहेको छ । यही अप्रिल ८ देखि उहानबासीहरू उहानबाट बाहिर जान पाउने भएका छन् । हाललाई हरित स्वास्थ्य कोड प्राप्त उहानबासीहरू अप्रिल ८ देखि उहानबाट अरू शहर तथा प्रान्त समेत जान पाउने भएका हुन् ।

कोभिड १९ संक्रमण नभएको र सम्पर्कमा नरहेकालाई हरित स्वास्थ्य कोड उपलब्ध गराइएको र तिनीहरूलाई सो अनुमति दिइने बताइएको छ । एक करोड बढी जनसंख्या भएको उहानमा कूल ५० हजार संक्रमित भएका थिए ।

गत सातादेखि नै यस्ता कोड प्राप्तहरू लगायत हुपैका अरू न्यून जोखिम क्षेत्रका स्थानीयहरूले सहज आवतजावतको सुविधा पाइसकेका छन् । कोरोना भाइरसको संक्रमण बढे लगत्तै जनवरी २३ देखि उहानलगायत हुपैका विभिन्न शहरहरूले आवगमन स्थगित गरेको थियो ।

यसै बीच सोमबार उहानमा एक नयाँ संक्रमित भेटाइएको छ । लगातार पाँच दिनसम्म नयाँ संक्रमित नथपिएको उहानमा सोमबार एक चिकित्सक संक्रमित पाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

मार्च १८ मा यहाँ पहिलो पल्ट नयाँ संक्रमित नपाइएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको थियो। सोही दिन चीन भरि पहिलो पल्ट घरेलु रूपमा भाइरस सङ्क्रमित देखिएको थिएन ।

मार्च २३ सम्म चीनको मुख्यभूमिमा कोरोना भाइरसबाट सङ्क्रमितको कूल संख्या ८१ हजार १ सय ७१ रहेको छ । यसमध्ये निको भएर अस्पतालबाट फर्कनेको संख्या ७३ हजार १ सय ५९ जना रहेको छ भने ३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ साथै बाकी उपचार पाइरहेका सङ्क्रमितको संख्या ४ हजार ७ सय ३५ छन् । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like