भारतले एक महिनाको लागि सबै नाका बन्द गर्ने

काठमाडौं।भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् । मानिसको यात्रामा कडाई गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो । भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

 
 
  
 

You may also like