पश्चिमी वायुको प्रभावले दुई दिन हावाहुरीसहित असिना पानी

काठमाडौं, २८ फागुन । नेपालमा फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका कारण दुई दिन हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज (बिहीबार) पश्चिमी वायुको प्रभाव पश्चिम क्षेत्रमा सीमित भए पनि भोलि (शुक्रबार) यसको असर देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘आज दिउँसोर साँझपख पश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘भोलि (शुक्रबार) देखि भने पश्चिमी वायुको प्रभाव देशभर फैलिने र देशका धेरै ठाउँमा हावाहुरीसहित असिना–पानी पर्ने सम्भावना देखिएको छ ।’

अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु दुवैको प्रभावले आंशिक बदली भएको छ भने मध्य र पूर्वी पहाडमा स्थानीय वायुको प्रभावले मौसम आंशिक बदली छ । आंशिक बदली भनेको कहिले घाम कहिले बादल देखिने अवस्था हो ।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम आंशिक बदली छ । काठमाडौं उपत्यकासहति मध्य र पूर्वी क्षेत्रमा आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् आर्यालले बताएका छन् ।
कस्तो रहला आउँदा तीन दिनको मौसम ?
फागुन २९ गते
दिउँसो–देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
राति– देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

फागुन ३० गते
दिउँसो–देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना छ । केहि स्थानमा असिना र हावाहुरीको समेत सम्भावना रहेको छ । मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
राति–देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भागलगाएत मध्यका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरीसहित बर्षाको सम्भावना छ । पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
चैत्र १ गते
दिउँसो–देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने छ । पश्चिमी र पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ । केहि स्थानमा असिना र हावाहुरीको समेत सम्भावना छ ।
राति–देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरीसहित बर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like