आज देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा

by समतल अनलाइन

काठमाडौं। देशको पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका नेपालको मौसममा बदली आएको छ ।

आज (बुधबार) देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । हाल देशका मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा तथा मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि मौसम त्यही अवस्थामा रहने विभागको अनुमान छ । देशका हिमाली तथा उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।
बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहे पनि मौसममा सुधार आउने विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार रातभर पानी परेको छ । तर सिमसिम पानी परेकाले बुधबार बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंमा जम्मा ५.६ मिलिमिटर मात्र वर्षा भएको छ । ‘यो भनेको हल्का वर्षा मात्र हो,’ मौसमविद् समीर श्रेष्ठले भने । केही बेरअघि मात्र यहाँ वर्षा रोकिएको छ । अब उपत्यकाको मौसम खुल्दै जाने उनले बताए । तर साँझतिर फेरि पानी पर्ने उनको अनुमान छ ।

 
 
  
 

You may also like