ई–रिक्सा चालकमाथि प्रहरीद्वारा कुटपिट

by समतल अनलाइन

बुटवल । विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेका छन् ।प्रहरीको कुटाइबाट ई- रिक्सा चालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए ।बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई प्रहरीले सुरुमा ब्लुबुक मागेका थिए । चालकले ब्लुबुक साथमा नरहेको भन्दै लाइसेन्स देखाउँदा प्रहरीसँग विवाद भएको थियो । विवादपछि प्रहरी बिटमा ल्याई अन्य दुई जना प्रहरीसमेत मिलेर कुटपिट गरेको सिंजालीले बताए । प्रहरीको कुटाईबाट आफू अर्ध–बेहोस भएको र प्रहरीले नै अस्पताल लगेर छाडेको बताए ।

सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।चालकमाथि कुटपिटको विरोधमा बुटवलका ई(रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरेका छन् । करिब पाँच सयको संख्यामा उपस्थित चालकहरुले कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने माग गरेका छन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले ई रिक्सा चालक स्वरोजगार मजदुरमाथि प्रहरीले बिटमै ल्याएर कुटपिट गर्नु ज्यादती भएको बताए । उनले दोषी प्रहरीमाथि कारवाही नभए कानुनी उपचारका लागि अदालत जाने बताए ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले घटना भएको जानकारी पाएको बताउँदै अध्ययन गरेर कारबाही गर्ने नगर्ने निर्णय गरिने प्रतिक्रिया दिए ।

 
 
  
 

You may also like