मृत्युअघि आमालाई हात हल्लाएको दुई वर्षका बालकको तस्वीर वर्षकै उत्कृष्ट घोषित

by समतल अनलाइन

काठमाडौं । फोटो पत्रकार नभेष चित्रकारले खिचेको हृदयविदारक तस्वीरले फोटो ‘अफ द इयर’ को उपाधि हात पारेको छ ।

आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगितामा चित्रकारको तस्वीर उत्कृष्ट घोषित भएको हो । हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्युपहिले हात हल्लाउँदै गरेको तस्वीर उनले खिचेका थिए । सोही तस्वीर फोटो अफ द इयर घोषित भएको हो ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चित्रकारले उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

त्यस्तै सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ । डेली लाइफ विधामा गोपेन राई, अर्घाखाँची सिमेन्ट न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, डिसहोम स्पोर्टस विधामा विकास द्धारे र नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भएको छ ।

यसबाहेक दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधा, सुबिर थापाले सिटी एक्सप्रेस कलचर एण्ड टुरिजम विधामा जित हासिल गरेका छन् । त्यस्तै सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए ।

एक्सप्रेस नेपाल नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो तथा दिपक बुढाथोकीको फोटो तेस्रो भयो। सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो ।

डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो। ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटो तेस्रो भयो ।

प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो । पुरस्कार हस्तान्तरणपछि निर्णायक मण्डलका सदस्य शेखर खरेलले ६ हजार फोटोबाट उत्कृष्ट फोटो छान्न निकै कठिन भएको बताए ।

 

 
 
  
 

You may also like