काठमाडौं । अभिनेता विराज भट्टले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । उनले महानायक राजेश हमालले लामो समय नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएको भन्दै तारिफ गरेका हुन् ।
कुनै समय चर्चामा रहेका विराज भट्टलाई कतिपय निर्देशकले राजेश हमालको विकल्पमा फिल्ममा लिने गरेका थिए । हमालभन्दा निकै पछि फिल्म उद्योगमा आएका विराजले राजेशलाई ‘महानायक’ भन्दै सम्मान व्यक्त गरे ।
‘राजेश दाइले आफ्नो युग नै खानुभयो, उहाँसँग मेरो तुलना गर्न मिल्दैन, कहिलेकाहीँ उहाँसँग तुलना भएको देख्छु, त्यसलाई सौभाग्य ठान्छु,’ विराजले भने ।
राजेश हमालले आफ्नो युगमा एकछत्र राज गरेको र उनले आफ्नो समयमा अरु कसैलाई अघि आउन नदिएको विराजले बताए ।
‘लामो समय राजेश दाइले फिल्म क्षेत्रमा काम गर्नुभयो, उहाँलाई असफल भन्न मिल्दैन,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘राजेश हमाल जति कुनै स्टारले नेपालमा चलेर देखाओस् न ! त्यसपछि उहाँलाई असफल भनौंला ।’
विराजले आफूले स्कूल पढ्दादेखि नै राजेश हमालका फिल्म हेरेर हुर्केको पनि बताए ।
भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विराजको लगानी र कथा पनि विराजकै छ ।
फिल्मको प्रचारलाई लिएर यतिबेला विराज मिडिया फ्रेण्डली बनेका छन् । फिल्मका प्रचारात्मक साम्रगीले रिलिजअघि राम्रै चर्चा कमाएका छन् ।