स्थानीय भन्छन्, ‘अब त ज्यान जोगाउनै समस्या होला जस्तो छ’
काभ्रे । गाउँ नै उठिबास लगाएको विषयमा उजुरी गरेको भन्दै अवैध क्रसर सञ्चालकले पनौती–२ बाघवीर डाँडाका स्थानीयलाई धम्की दिएका छन् । बाघवीर–२ की स्थानीय रीता भुजेलका अनुसार काठमाडौं रोडा तथा ढुंगाखानी उद्योगका सञ्चालक कैलाश कुँवरले स्थानीयलाई धम्की दिएका हुन् ।
बाघवीर डाँडामा अहिले भुजेल समुदायको ६ घरपरिवार बस्छन् । खानी सञ्चालनका लागि उद्योगले भुजेल गाउँबाहेक वारिपारिका तीन सय रोपनी डाँडा खरिद गरिसकेको छ । सोही डाँडाको फेदमा उनीहरूले ढुंगाखानी तथा क्रसर उद्योग सञ्चालन गरेका छन् ।
उद्योगबाट चल्ने डोजरले भुजेल गाउँको फेद र बायाँतर्फको भाग ताछिसकेको छ । पहिरोले गाउँ नै लैजाने डर भएपछि भुजेल गाउँका स्थानीयले वडा, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी गरेका थिए । क्रसरको सम्बन्धमा उजुरी गरेको र पत्रकारलाई समेत उनीहरूले नै जानकारी दिएको भन्दै उद्योगका सञ्चालक कुँवरले भुलेज गाउँका स्थानीयलाई धम्की दिएका हुन् ।
क्रसरले पुर्याएको क्षतिबारे नयाँ पत्रिकाले स्थलगत रिपोर्टिङ गरेको थियो । ‘पत्रकार बोलाएर जानकारी दिएको भन्दै कैलाशबाट हामीलाई धम्की आएको छ, अब त ज्यान जोगाउनै समस्या होला जस्तो छ ।’
कैलाशको भनाइ उद्धृत गर्दै रीताले थपिन्, ‘जहाँ–जहाँ गएर जे–जे सक्छौ गर । तर, हामी पनि चुप लागेर बस्दैनौँ, तिमीहरूले सकेको गर, सकेको हामी पनि गर्छौँ ।’ रीताका अनुसार भुजेल गाउँका स्थानीयको जग्गा एक वर्षको भाका राखेर उद्योगले हडप्न लागेको छ ।
हामी निरीह छौ : पुरुषोत्तम अधिकारी, वडाध्यक्ष, पनौती–२
पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले क्रसर उद्योगको ज्यादती थामिनसक्नु रहेको बताए । उनले भने, ‘क्रसर उद्योगको ज्यादती धेरै छ । तर, यसमा हामीले गर्न सक्ने केही छैन । स्थलगत रूपमा म पनि गएको छु ।
स्थानीयको पीडा मलाई थाहा छ । तर, हामी निरीह छौँ । बन्द गर्ने तहमा जिल्ला समन्वय समिति छ । त्यहाँ सिडिओ र प्रहरीको समेत निर्णायक भूमिका रहन्छ । उनीहरूले केही गर्दैनन् । हामीले के गर्न सक्छौं ?’
बदमासीले सीमा नाघ्यो : उद्धव केसी, प्रमुख, जिसस काभ्रे
काभ्रेमा २२ वटा ढुंगाखानी र ३२ वटा क्रसर उद्योग छन् । तिनीहरूको अनुगमन हामीले भर्खरै गर्यौं । स्थिति भयावह छ । हामी प्रतिवेदन बनाउँदै छौँ । हामीले दुई वटा क्रसर र दुईवटा ढुंगाखानीलाई त बन्द नै र्गयौँ । बाँकीका पनि मापदण्ड पुगेको छैन । उनीहरूलाई मापदण्डभित्र आउन भनेका छौँ । जसले मापदण्ड पूरा गर्न सक्दैन, उसलाई स्थानान्तरण गर्न भनेका छौँ ।
उनीहरू उद्योगमा दर्ता छन् । उद्योग बन्द गराउने अधिकार हामीसँग छैन । बदमासीको त सीमै नाघेको देखिन्छ । दुई सय रोपनी जग्गा दर्ता भएको उनीहरू भन्छन् । लालपुर्जा माग्दा आठ रोपनीको दिन्छन् । एउटाको मात्रै होइन, सबैको स्थिति उस्तै छ । प्रतिवेदन बोकेर अब हामी उद्योग, वनलगायतका मन्त्रालय जान्छौँ । प्रकृतिको दोहन गर्न दिने कि रोक्ने भनेर हामी उनीहरूलाई भन्नेछौँ ।
समाचार लेखेर ठीक गर्नुभएन
ठाकुर गौतम, सञ्चालक, काठमाडौं रोडा तथा ढुंगाखानी
तपाईंहरूले बाघवीरका स्थानीयको समाचार छाप्नु भएछ । उनीहरूको सम्बन्धमा जे सुकै गर्नुहोस् । तर, हाम्रो समाचार तपाईंहरुले बनाउन पाउनु हुन्न । यसअघि समाचार बनाउनु भएछ । यसमा हाम्रो आपत्ति छ । हामीलाई फोन नगर्नुस् । अहिले गरिहाल्नुभयो, आइन्दा नगर्नुस् । गर्नुभयो भने ठीक हुँदैन ।
हामीले उद्योग दर्ता गरेका छौँ । क्रसर मात्रै हो दर्ता नभएको । यसको पीडा हामीसँगै छ । खानी चलेको डाँडा हामीले किनेका हौँ । हामीसँग लालपुर्जा छ । यसमा जे गरौँ, त्यो हाम्रो मर्जी हो । जहाँसम्म भुजेलगाउँको कुरो छ । त्यसलाई हामीले चलाएका छैनौँ । हाम्रो जग्गामा मात्रै खनेका हौँ । आफ्नो जग्गामा पनि खन्न नपाउने ? तपाईंहरुले समाचार बनाएर हामीलाई टर्चर भयो । आइन्दा यस्तो नगर्नुहोला ।
डायमन्डबाट जबरजस्ती हस्ताक्षर
अवैध रूपमा बाघवीर डाँडामै चलेको अर्को क्रसर उद्योग डायमन्ड रोडा तथा ढुंगाखानीले डाँडा खरिदका लागि सरजमिन गराउन स्थानीयको जबरजस्ती हस्ताक्षर संकलन गरेको खुलेको छ । डायमन्डका कर्मचारी सोमबार गाउँमै पुगेर फसकुमार साही, जानुका साही र रवि साहीको हस्ताक्षर लिएका छन् ।
क्रसर तथा खानी उद्योगको सेयर दिने प्रलोभन दिएर डायमन्डका कर्मचारीले उनीहरूको हस्ताक्षर गराएका हुन् । डायमन्डले बाघवीरको तीन सय रोपनीभन्दा धेरै डाँडा खरिद गरिसकेको छ । सोही डाँडाको फेदमा उसले केही वर्षदेखि क्रसर तथा खानी उद्योग सञ्चालन गर्दैै आएको छ । नयाँ पत्रिका दैनिकबाट