लुम्बिनीमा पर्यटक टिकाउनै मुस्किल !

by समतल अनलाइन

जीवराज चालिसे

बुटवल। सन् २०१२ सालदेखि यता लुम्बिनीमा पासपोर्ट बोक्ने पर्यटक आगमनको औषत वार्षिक वृद्धिदर झिनो तीन प्रतिशत छ । आएका पर्यटकमध्ये १० प्रतिशतले मात्रै कम्तीमा एक रात लुम्बिनीमा बिताउने गरेका छन् ।

बुटवल । लुम्बिनी विकास कोषको तथ्याङ्कले सन् २०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४४ हजार ७०४ जना बाह्य (भारतबाहेकका) पर्यटकहरु बुद्ध जन्मस्थल लुम्बिनी आएको बताउँछ । हिसाब गर्दा ती आठ वर्षमा दैनिक औषत ३ सय ६४ जना पासपोर्टधारी अर्थात् भारतीय र आन्तरिकबाहेकका पर्यटक लुम्बिनी आएका थिए ।

गतवर्ष सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धनले सार्वजनिक गरेको एक प्रतिवेदनमा लुम्बिनी आएका पासपोर्टधारी पर्यटकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा कम्तीमा एक रात बिताउने गरेका छन् । हिसाब गरौँ–दैनिक ३६ जना विदेशी पर्यटक (भारतीयबाहेक)ले लुम्बिनीमा रात बिताउने गरेका छन् !

जबकि, यिनै पर्यटकहरुलाई लक्षित गरेर लुम्बिनीमा खोलिएका होटलहरुमा एक दिनमै ३ हजार जनाभन्दा बढीले बास बस्न पुग्ने क्षमता रहेको सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् ।

टिक्दैनन् पर्यटक

लुम्बिनीमा आउने पर्यटकको संख्या नबढेको भने होइन, कोषका अनुसार सन् २०१२ मा आन्तरिक तथा बाह्य ७ लाख ९५ हजार ८६० जना पर्यटक लुम्बिनी आएका थिए । सन् २०१९ को अन्तिममा आइपुग्दा उक्त संख्या बढेर १५ लाख ५२ हजार ८६९ जना पुगेका छन् । यसरी हेर्दा सन् २०१२ देखि सात वर्षको अवधिमा लुम्बिनीमा औषत १३ प्रतिशतले वार्षिक कुल पर्यटकको संख्या बढिरहेको छ । कुल पर्यटकको संख्या बढेको देखिए पनि खर्चगर्ने पासर्पोटधारी पर्यटकहरुको संख्या औषत वार्षिक झिनो ३ प्रतिशतले बढिरहेको तथ्यांकले देखाउँछ ।

स्थलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, बेलहिया । बेलहिया नाका हुँदै नेपाल आउने अधिकांश पर्यटक भारतीय ट्राभल एजेन्टहरुको आइटिनररी (गन्तव्य योजना)मा लुम्बिनी छिर्ने गर्छन् ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनाल बेलहिया हुँदै आएका भारतीय या तेस्रो मुलुकका पर्यटक केही घण्टामात्रै नेपालमा बस्ने बताउँछन् । ‘पारीबाट(भारतबाट) आएका पर्यटकहरु केही घण्टाका लागि मात्रै लुम्बिनी आउँछन्’ उनी भन्छन्,‘अधिकांश फर्किन्छन् भने केही चितवन या पोखरासम्म पुग्छन् ।’

भारतबाट छिर्ने पर्यटकहरुले बुद्धजन्मस्थललाई ‘ट्रान्जीट प्वाइण्ट’का रुपमा प्रयोग गर्दा लुम्बिनीका पर्यटन व्यवसायीहरु हैरान छन् । ‘भारतदेखि बेलहिया हुँदै आएका अधिकांश पर्यटकहरुले भारतीय गाइड नै बोकेर आउँछन् । पर्यटकहरु एजेण्टहरुको रोहोबरमै रहन्छन् । उनिहरुले जता लग्यो त्यतै जान्छन् ।’ होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी बताउँछन् ।
हुन पनि सन् २०१३ मा युनेस्कोको अन्तर्गतको जापान फाउन्डिङ ट्रस्ट प्रोजेक्ट (जेफिट) ले गरेको ‘भिजिटर सर्भे एन्ड अब्जरभेसन’मा लुम्बिनीमा बसाइ अवधि ३० मिनेटभन्दा कम पाइएको थियो । सन् २०१३ मा एक महिना लगाएर २९३ वटा पर्यटकको समूहलाई अध्ययन गर्दा गर्दा ३० मिनेटभन्दा कम बस्ने पर्यटकको संख्या ७२.६ प्रतिशत, एक घण्टाभन्दा कम अडिने २१.८ र एक घन्टाभन्दा बढी समय बिताउने पर्यटक ५.५ प्रतिशत रहेको सार्वजनिक गरेको थियो । लुम्बिनी कोष मातहतको केस्ट नेपालले गतवर्ष गरेको सर्वेक्षणले त झन् लुम्बिनीमा आएका कुल पर्यटकमध्ये पाँच प्रतिशत पनि नटिक्ने तथ्य सार्वजनिक गरेको थियो ।

मर्कामा ठूला लगानीका होटल

एकातर्फ पैसा खर्चगर्न सक्ने पर्यटकको वृद्धिदर झिनो हुनु अर्कातर्फ आएका पर्यटकहरुले लुम्बिनीमा रात नकटाउनु, यी दुवै विषय लुम्बिनीलाई लक्षित गरेर सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायीको लागि टाउको दुखाइको विषय बनेको छ । जसले गर्दा लुम्बिनी, भैरहवा र बुटवलमा खुलेका केही ठूला होटलहरु बन्द हुने अवस्थामा रहेका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको प्रारम्भिक आँकलनअनुसार बाह्य पर्यटक लक्षित तारे तथा सोही स्तरका ६० प्रतिशत होटलहरु बन्द हुने अवस्थामा रहेका छन् । चलेका भनिएका होटलहरुको पनि कारोबार नराम्रोसँग खस्कीएको संघका अध्यक्ष जिसी बताउँछन् ।
‘विदेशी पर्यटकहरु आएकै छैनन् । आएका पनि यहाँ रुक्दैनन् ।’ अध्यक्ष जिसी भन्छन्,‘भन्दा दुःख लाग्छ तर यहाँका ६० प्रतिशत ठूला होटलहरु नचलेर बन्द हुने अवस्थामा पुगेका छन् ।’

धनाढ्य पर्यटकहरुलाई लक्षित गरेर पछिल्ला १० वर्षमा अर्बौँको लागतमा रुपन्देहीमा २० वटा भन्दा धेरै पाँच तारे र सोही स्तरका होटलहरु खुलेका छन् । पाँच तारे नभएपनि बाह्य पर्यटकलाई लक्षित गरेर खोलिएका अन्य २५० वटा होटल सञ्चालनमा छन् । तीमध्ये केहीले धमाधम पाँचतारेमा स्तरवृद्धि गरिरहेका छन् ।

संघका अनुसार अहिले रुपन्देहीमा सानाठूला गरी ४ हजारको हाराहारीमा होटल तथा रेष्टुरेण्ट छन् । दुई वर्ष यता मात्र होटल तथा रेष्ट्ररेण्ट व्यवसायी संघ रुपन्देही मातहत ५ सयभन्दा बढी होटल थपिएका छन् । दुई वर्ष अगाडि १२ सय रहेकामध्ये हाल १७ सय वटा होटल तथा रेष्टुरेण्ट संघमा आबद्ध भएका छन् ।

भैरहवा बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक तथा संस्कृतिविद् प्राडा गितु गिरी लुम्बिनीमा पर्यटनको सम्भावना अथाह भएकाले होटलहरुमा लगानी बढेको बताउँछन् । तर, उक्त सम्भावनालाई यथोचित ‘क्यास’ गर्न नसक्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको उनको धारणा छ ।

‘लुम्बिनी साउथ एसीयामा सबैभन्दा ठूलोे सांस्कृतिक सम्पदा हो । अब यहाँ सिधै अन्तर्राष्ट्रिय विमानस्थलको पहुँच छ । यो कुराले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएर लगानी थपिरहेका छन्,’उनी भन्छन्,‘तर, पूर्वाधार र कुशल व्यवस्थापनको अभावमा उत्साह मर्न लागेको छ । पर्यटन व्यवसाय मुर्झाउने अवस्थामा छ ।’

 

 
 
  
 

You may also like