सांसदको भाषणको भरमा उधारोमा सडक खनियो, तीन वर्षसम्म पैसा नपाएपछि डोजर धनीले भत्काई दिए सडक

by समतल अनलाइन

गुल्मी। कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा उपभोक्ता समितिले तीन वर्षअघि उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि अहिले डोजर लगाएर भत्काइएको छ ।

रत्नबहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले नेताको भाषणकै विश्वासमा ०७३ मा अर्बेनी–देउराली–कोट पाँच किलोमिटर सडक उधारोमा खनेको थियो । गुल्मी–१ का तत्कालीन सांसद कृष्ण छन्तेलले सांसद विकास कोषबाट आउने बजेट दिने भन्दै स्थानीयलाई सडक खन्न आश्वासन दिएका थिए ।

विक नेतृत्वको उपभोक्ता समितिले स्थानीयसँग तेलको पैसा उठाएर सडक खने । समितिकै सदस्य समेत रहेका निर्माण व्यवसायी लक्ष्मीपति न्यौपानेको डोजर प्रयोग भएको थियो । तर, सांसद छन्तेलले भनेझै समितिले पैसा पाएन ।

उक्त सडक खन्दा २० लाख ८० हजार ऋण रहेको समितिको दाबी छ । भुक्तानी नपाएको भन्दै अहिले डोजरमालिक लक्ष्मीपति न्यौपानले नै दुई ठाउँमा सडक भत्काएका हुन् । सडक खनेको पैसा नपाएको झोंकमा भत्काई दिएको उनले बताए ।

०७४ मा स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रमा कांग्रेस पराजित भयो । नेकपाका जनप्रतिनिधि आए । उपभोक्ता समितिले उधारोमा सडक खनेको पैसा गाउँपालिका र वडासँग मागे । तर, विनायोजना पहिल्यै सडक खनेर पछि भुक्तानी गर्नु गैरकानुनी हुने भन्दै दिएका छैनन् ।

आर्थिक वर्ष ०७४–७५ मा सोही सडक स्तरोन्नति गर्न गाउँपालिकाबाट १० लाख विनियोजन भएको थियो । उपभोक्ता समितिले पाँच लाख पुरानो ऋण तिरेर पाँच लाखले नयाँ काम गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, वडाध्यक्ष देवी न्यौपानेले त्यसो गर्नु गैरकानुनी हुने भन्दै समितिको प्रस्ताव अस्वीकार गरिदिए । विवादमै १० लाख फ्रिज भयो ।

‘मैले गैरकानुनी काम गर्ने कुरै भएन, त्यसैले प्रस्ताव अस्वीकार गरें,’ न्यौपानेले भने । उधारोमा सडक खन्ने उपभोक्ता समितिप्रति सबै स्थानीय एक पनि छैनन् । उपभोक्ता समितिको नाममा सबैको सहमतिविना नै उधारोमा सडक खनिएको आरोप लगाएका छन् । सडक खन्दाको हिसाबकिताब पनि सार्वजनिक नभएको उनीहरूको गुनासो छ ।

अहिले उक्त सडकसँगै जोडिएर गाउँपालिकामा अर्बेनी रिङरोड बनाउन प्रदेश सरकारबाट एक करोड २२ लाख विनियोजन भएको छ । यो ठेक्का निर्माण व्यवसायी टन्डन कन्स्ट्रक्सनले पारेको छ ।

तर, निर्माण व्यवसायी लक्ष्मीपति न्यौपानेले पाँच किलोमिटर सडक खन्दा आफ्नो पैसा फसेको भन्दै टन्डन कन्स्ट्रक्सनका व्यवस्थापक कुलबहादुर टन्डनसँग ठेक्का आफ्नो हातमा ल्याउन पहल गरिरहेका छन् । आफूले टन्डनलाई पाँच लाखको चेक दिएकोसमेत उनले बताए । तर, टन्डन भने आफूलाई अप्ठ्यारोमा पारेर फसेको पैसा उठाउन न्यौपानेले कपोलकल्पित आरोप लगाएको दाबी गरे ।

कालिगण्डकी गाउँपालिकाका प्रमुख वेद थापामगर सांसदको आश्वासनमा उधारोमा काम गर्दा उपभोक्ता समिति फसेको बताउँछन् । उनले सडकलाई राजनीतिक विषय बनाइन नहुने बताए ।

‘करिब चार सय घरधुरी लाभान्वित हुने सडकसँग कसैको व्यक्तिगत स्वार्थ मिसिन हुँदैन,’ उनले भने, ‘संसद् विकास कोषको आसमा समिति ऋणमा फसेको छ । भुक्तानी नभएको झोँकमा सडक भत्काएछन् ।’ गाउँपालिका अध्यक्ष मगरले समाधान निकाल्ने बताएपछि डोजरमालिक न्यौपानेले भत्काएको सडक पुनः मान्छे हिँड्न मिल्ने गरी केही मर्मत गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like