नेकपाले नसके हामी संसद चलाई दिन्छौं, यसरी संसद नै बन्धक बनाउन मिल्दैन : देउवा

by समतल अनलाइन

मोरङ। प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कारण लामो समयदेखि संसद बन्धक भइरहेको बताएका छन् ।

उनले सभामुख चयन प्रक्रिया छिटो शुरू गर्नुपर्ने बताएका छन् । हिउँदे अधिवेशन आह्वान भएको महिना दिनसम्म पनि नेकपाले सभामुखको उम्मेद्वार दिन नसकेको बताउँदै अब धेरै कुर्न नसकिने बताए ।

‘नेकपाले महिनौं दिनसम्म यसरी संसद बन्धक बनाउन मिल्दैन । उहाँहरू (ओली–प्रचण्ड) मिल्दै नमिल्ने हो भने हामी संसद चलाई दिन्छौं,’ देउवाले भने । नेकपाभित्र आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको छ ।

पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ । अर्को बैठक माघ ६ गते दिउँसो १ बजे संसद बैठक डाकिएको छ । तर, अझै सत्तारुढ दलमा सभामुखको उम्मेद्वारबारे सहमति जुट्न सकिरहेको छैन ।

यसैबीच सभापति देउवाले पार्टीभत्रको असमझदारी हल हुने क्रममा रहेको समेत दावी गरेका छन् । बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको उल्लेख गर्दै देउवाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने दावी गरे ।

महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेपछि आफूहरूको परामर्श बिना नै सभापति अघि बढेकोमा पौडेल र सिटौला रूष्ट थिए । ‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो । तोकिएकै समयमा महाधिवेशन हुन्छ,’ सभापति देउवाले भने ।

 
 
  
 

You may also like