उपसभामुखले राजीनामा नदिएपछि ओली-प्रचण्ड छलफलमा

by समतल अनलाइन

काठमाडौं। प्रतिनिधिसभा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिन नमानेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।

शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख डा.तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो। तर, उपसभामुख हुँदा पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिइसकेकाले नेकपाले निर्देशन दिन नमिल्ने भन्दै डा.तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेकी छन्। उनले भनेकी छन्, ‘गल्ती गर्ने एउटा, सजाय पाउने अर्को हुँदैन। मैले केही गल्ती गरेको छैन, राजीनामा दिन्न।’

आइतबार प्रतिनिधिसभा बैठक बोलाइएको छ। उनले संसद् बैठक संचालन गर्ने बताएकी छन्। ‘आज संसद् बैठक चलाउछु। सभामुख चयनको प्रक्रिया अघि बढाउँछु,’ उपसभामुख डा.तुम्बाहाङफेले भनिन्।

उपसभामुखले अडान लिएपछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड आइतबार बिहान छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निवास बालुवाटरमा छलफल चलिरहेको नेकपा स्रोतले जनाएको छ।

उपसभामुखले राजीनामा नदिएर संसद् बैठकमा सभामुख चयनको प्रक्रिया सुरू गरे नेकपाले सभामुख पद गुमाउनेछ। संवैधानिक व्यवस्थाअनुसार, सभामुख र उपसभामुख एउटै पार्टीको हुदैन्। अझ पुरुष र महिला हुनुपर्छ।

उपसभामुखले सभामुखको निर्वाचन प्रक्रिया सुरू गरे नेकपाले सभामुखमा उम्मेदवारी समेत दिन नपाउने भएकाले प्रधानमन्त्री ओली र प्रचण्ड के गर्ने भन्ने विषयमा छलफलमा जुटेका हुन्। छलफल जारी रहेको बालुवाटर स्रोतले जनाएको छ।

तत्कालनी सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि राजीनामा दिएका थिए। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

सभामुखका लागि नेकपाबाट पूर्वसभामुख सुभाष नेम्वाङ, नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा र पम्पा भुषालको नाम चर्चामा छ। प्रधानमन्त्री ओली नेम्वाङ र अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

उपसभामुख डा.तुम्बाहाङफेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी छन्। उपसभामुखलाई नै सभामुख बनाउनु पर्ने राष्ट्रपतिको अडान छ।

प्रतिनिधिसभा बैठक आज दिउसो १ बजे बोलाइएको छ।

 
 
  
 

You may also like