ब्लडमनि प्रकरणः रानाभाटले आममाफी पाएपछि संकलित रकमबारे सामाजिक सञ्जालमा चर्काचर्की !

by समतल अनलाइन

एक भारतीय नागरिकलाई हत्या गरेको आरोपमा कतार जेलमा परेका चितवनका विनोद रानाभाट आममाफी पाएर स्वदेश फर्किएपछि उनलाई बचाउनका लागि उठाइएको ब्लडमनिलाई लिएर अभियन्ताबीच नै विवाद चर्किएको छ ।

सहयोग रकम संकलन गररे पारदर्शी नबनेको भन्दै अभियन्ताबीच विवाद भएको हो । संकलित रकम अभियन्ताहरुले नै दुरुपयोग गर्ने आशंकाबीच रानाभाट प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरिएको छ ।

यौन दुर्व्यवहार गरेको रिसको झोकमा एकजना भारतीयलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेको आरोपमा रानाभाट कतार जेलमा परे थिए । उनलाई कतारमा फाँसीको सजाय दिने हल्लासँगै ब्लड मनीका लागि ८२ लाख रुपैयाँ संकलन गर्न सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग संकलन शुरु भएको थियो ।

संसारभरका नेपालीको सहयोगमा ब्लडमनीका लागि १ करोड २१ लाख रुपैयाँ संकलन भयो । तर रानाभाटले कतार सरकारको तर्फबाट आममाफी पाए । रानाभाट ब्लडमनी नचाहिने गरी नेपाल फर्किए ।

उनी स्वदेश फर्किएपछि उनका लागि उठाइएको रकमलाई लिएर विवाद शुरु भएको हो ।

संकलित रकममध्ये ४२ लाख रुपैयाँ विभिन्न व्यक्तिलाई सहयोग गरिएको बताइएको छ । बाँकी ७९ लाख रुपैयाँ भने संकलनकर्ताहरुसँगै रहेको छ ।

संकलित भएको रकमको हिसाब–किताब सार्वजनिक नभको भन्दै सामाजिक सञ्जालमा आक्रोश शुरु भएको छ । एक जना अभियन्ता इशा गुरुङ लेख्छिन्– नमस्कार /बिनोद रानाभाटको संकलित रकम बारे जुन कुराहरू आज बिहान भरी भाइरल भएको छ , त्यो सत्य तथ्य बुझेर सार्वजनिक गरिने छ , हाल आबेगमा समितिले निर्णय नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु

उनले अर्को स्टाटस यस्तो लेखेकी छिन्- सूचना / बिनोद रानाभाटको रकम आज १४ जना पिडितले चेक लिएर गए रे , समितिका अध्यक्ष हरि रानाभाटले राजीनमा दिए रे, अब बाँकी रकम ७३ लाख ६८ हजार चाँडै बैठक बसेर बाँकी असली पीडितहरूलाई बुझेर सहयोग गर्ने रे..

विनोद रानाभाट बचाऊ अभियानमा लागेका पत्रकार मनोज भट्टराईले लेखेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ विनोद रानाभाट बचाउ अभियानलाई पोर्तुगलबाट उठाएको रकम फिर्ता लिने र जरुरत ठाउँमा वा व्यक्तिलाई दिने निर्णय गरेका छौँ । किनभने त्यो उठाएको रकम दुरुपयोग नहोस, कठालो समातेर फिर्ता गराइन्छ।’

अर्की एक सामाजिक अभियन्ता ज्वाला संग्रौलाले पनि संकलित रकमबारे मुख खोलेकी छिन् । उनले रानाभाट समितिलाई निर्देशन दिँदै संकलित रकममा मनपरी नगर्न भनेकी छिन् । उनले पीडित सबैलाई बराबर रकम सहयोग गर्न र बैंक स्टेटमेन्ट सार्वजनिक गर्न माग गरेकी छिन् ।

फेसबुक अभियानलाई सहयोग गरेका एक व्यक्तिले भनेका छन्, ‘समितिले बारम्बार मुठोमा र्याल चुहायो त्यो मुठो रकम हात नपर्ने छाटकाट देखेसी तीन चोक्टा गरेर बाड्ने मनसाय आफैआफै बनायो । अहिले त्यही पैसाको ब्याज के कति हो केही कुराको सार्बजनिक सूचना सार्बजनिक नगरी अन्तै दिने मनसाय फेरि बनाउँदा समितिले बारम्बार देखाको स्वार्थलाई अब हामीले के भन्ने लोभिपापी भन्नुपर्ने हो ? ’
अभियान संकलित पैसा राखेका अर्जुन भुषालले भने महावीर पुनको आविस्कार केन्द्र, धुर्मुस सुन्तली फाउण्डेसन वा अन्य पीडितलाई दिन सकिने तर्क गरेका छन् । सहयोग गर्नेहरुले भने उक्त वैदेशिक रोजगारीमा पीडित बनेकालाई दिनुपर्ने बताउँदै आएका छन् ।

 
 
  
 

You may also like