एनपिएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

by समतल अनलाइन
18Shares

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनको रोमाञ्च अब निर्णायक मोडमा पुगेको छ । प्रतियोगितामा सानदार प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मङ्सिर १ गते अर्थात् आज पहिलो क्वालिफायरमा आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने यो खेल केवल अर्को प्रतिस्पर्धा होइन, फाइनल प्रवेशको पहिलो ढोका हो । जित्ने टोली उपाधि नजिक पुग्नेछ भने हार्ने टोलीको यात्रा पनि यहीँ रोकिने छैन ।लुम्बिनी र सुदूरपश्चिमको उक्त हाइ भोल्टेज खेल हेर्न दर्शकहरू पनि आतुर छन् ।

लिग चरणमा दुवै टोलीले समान पाँच खेल जितेका छन् । तर, अंकतालिकामा लुम्बिनी एक अंकले अगाडि रह्यो । सात खेलबाट पाँच जित, एक हार र एक नतिजाविहीन खेलसहित ११ अंक जोडेको लुम्बिनी पहिलो स्थान हासिल गर्यो । यता सुदूरपश्चिमले पाँच जित र दुई हारबाट १० अंक बटुल्दै दोस्रो स्थान हासिल गर्‍यो ।

नेट रनरेटमा पनि लुम्बिनीको अग्रता उल्लेखनीय छ । लुम्बिनीको नेट रनरेट प्लस १.२५६ रहँदा सुदूरपश्चिमको प्लस ०.१३५ छ । यी तथ्यले लिग चरणमा लुम्बिनीको प्रदर्शन बढी प्रभावशाली देखाउँछन्, तर, नकआउट खेलमा पुरानो अंकतालिकाले मात्र नतिजा तय गर्दैन ।

यी दुई टोलीबीच यसै सिजनको पहिलो खेलमै भिडन्त भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो । त्यसैले पहिलो क्वालिफायर सुदूरपश्चिमका लागि पुरानो हारको जवाफ दिने अवसरसमेत हो । एनपिएलका तीन सिजन जोड्दा यी टोलीबीच अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ ।

पहिलो सिजनमा सुदूरपश्चिमले ४५ रनको जित निकालेको थियो । दोस्रो सिजनको लिग चरणमा पनि सुदूरपश्चिम सात विकेटले विजयी भयो । तर, दोस्रो सिजनकै फाइनलमा लुम्बिनीले छ विकेटको जितसहित उपाधि उचाल्यो । यस सिजनको उद्घाटन खेल पनि लुम्बिनीले जितेपछि समग्र भिडन्त २-२ को बराबरीमा छ। भोलिको खेल पाँचौँ भेट हुनेछ ।

लुम्बिनीको बलियो पक्ष टोलीको सन्तुलन र दबाबका क्षणमा खेल सम्हाल्ने क्षमता हो । कप्तान रोहित पौडेलले ब्याटिङलाई नेतृत्व गर्नेछन् । उनीसँगै निरोशन डिकवेला तथा डार्सी सर्टजस्ता विदेशी खेलाडीबाट ठूलो योगदानको अपेक्षा हुनेछ । बलर रुबेन ट्रम्पलम्यानले बलिङमा टोलीलाई बलियो बनाउँछन् । नेपाली खेलाडी सन्दीप जोरासहितका ब्याटरले पनि जिम्मेवारी लिनुपर्नेछ ।

लुम्बिनीको लक्ष्य सुरुवातमा विकेट जोगाउँदै बलियो योगफल बनाउने र बलिङमा विपक्षीलाई दबाबमा राख्ने हुनेछ । सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । नेपाली क्रिकेटका प्रभावशाली अलराउन्डर दीपेन्द्र ब्याट र बल दुवैबाट खेलको दिशा बदल्न सक्छन् । आरिफ शेख, विनोद भण्डारी र इशान पाण्डेजस्ता नेपाली खेलाडीले ब्याटिङमा साथ दिनुपर्नेछ ।

विदेशी खेलाडी स्कट कुगेलाइन र साइफ जैब टोलीका महत्वपूर्ण विकल्प हुन् । अविनाश बोहरा र अन्य बलरको प्रदर्शन पनि उत्तिकै निर्णायक हुनेछ । सुदूरपश्चिमले पछिल्ला खेलमा देखाएको लयलाई निरन्तरता दिन सके लुम्बिनीमाथि दबाब बनाउन सक्छ ।

फिल्डिङ पनि उत्तिकै महत्वपूर्ण हुनेछ। क्याच छुटाउनु, अतिरिक्त रन दिनु वा अन्तिम ओभरमा नियन्त्रण गुमाउनु जस्ता गल्तीले खेलको नतिजा उल्ट्याउन सक्छ । त्यसैले व्यक्तिगत चमकसँगै सामूहिक अनुशासन र रणनीतिक निर्णय निर्णायक बन्नेछन् । यस्तो ठूलो प्रतिस्पर्धामा खेलको नतिजा अनुमान गर्न सजिलो छैन ।

लिग चरणको अंक, नेट रनरेट र यस सिजनको आपसी भेटले लुम्बिनीलाई केही बलियो आधार दिएको छ । अर्कोतर्फ, सुदूरपश्चिमले अघिल्ला सिजनका भेटमा देखाएको प्रतिस्पर्धात्मक क्षमता र पछिल्लो जितको लयलाई बेवास्ता गर्न मिल्दैन ।

दुवै टोलीसँग अनुभवी नेपाली खेलाडी र प्रभाव पार्न सक्ने विदेशी खेलाडी छन् । त्यसैले टस, पिचको अवस्था, पावरप्लेमा विकेट र मध्य ओभरको नियन्त्रणले खेलको दिशा निर्धारण गर्न सक्छ । पहिलो क्वालिफायरको विजेता सिधै मंसिर ५ गते हुने फाइनलमा पुग्नेछ । पराजित टोलीले भने मंसिर ३ गते हुने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग अर्को मौका पाउनेछ ।

त्यसैले हारले उपाधिको सम्भावना समाप्त नगरे पनि जितले फाइनलको टिकटसँगै तयारीका लागि थप समय दिनेछ । लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने अभियानमा छ । अब कीर्तिपुरको मैदानमा कसले दबाब सहन्छ, कसले अवसर सदुपयोग गर्छ र कसले फाइनलको यात्रा तय गर्छ भन्ने प्रतीक्षा छ ।

You may also like