बुटवलमा सकियो दीपावली सडक खाना महोत्सव, अन्तिम दिन खुमन अधिकारीले नचाए दर्शक

by समतल अनलाइन
37Shares

बुटवल । तिहारको अवसर पारेर बुटवलको सुख्खानगरमा आयोजना गरिएको ‘दीपावली सडक खाना महोत्सव–२०८३’ सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा कात्तिक २० गतेदेखि सुरु भएको महोत्सव आइतबार राति सकिएको हो।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा सञ्चालन गरिएको महोत्सवमा खानाका परिकार, तिहारका सामग्री र स्थानीय उत्पादनका गरी ५५ वटा स्टल राखिएका थिए।

महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकारसँगै फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री बिक्रीका लागि राखिएका थिए। स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसाय विस्तार र उद्यमीलाई बजार उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ।

महोत्सवमा बुटवलवासीको उत्साहजनक सहभागिता रहेको संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले बताए। महोत्सवले दीपावलीको सांस्कृतिक महत्त्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उनको भनाइ छ।

खुमन अधिकारीको प्रस्तुतिमा झुमे दर्शक

महोत्सवको अन्तिम दिन आइतबार साँझ चर्चित दोहोरी गायक खुमन अधिकारीको सांगीतिक प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्‍यो। उनले ‘भिर्ने झोलामा’, ‘अझै पनि लगन आएकै छैन’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले सँगै गाउने, नाच्ने र हुटिङ गर्दै साथ दिएका थिए।
त्यस्तै, पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ का गीतले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। कलाकारको प्रस्तुतिसँगै शुक्रपथको माहोल सांगीतिक बनेको थियो।

महोत्सवको पहिलो दिन उद्घाटनसँगै स्थानीय ब्यान्डको प्रस्तुति राखिएको थियो। दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति आयोजना गरिएको प्रचारप्रसार संयोजक गणेश भट्टराईले जानकारी दिए। महोत्सव अवधिभर अन्य स्थानीय कलाकारले समेत प्रस्तुति दिएका थिए।

आयोजक र सहयोगी संस्थालाई सम्मान

महोत्सव समापनका अवसरमा आयोजक संघले महोत्सव सफल बनाउन सहयोग गर्ने शुक्र टोल विकास समिति र बुटवल उपमहानगरपालिका वडा नं. ८ कार्यालयलाई सम्मान गरेको छ।
यसै अवसरमा शुक्र टोल विकास समितिले बुटवल उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ। संघको हालै सम्पन्न अधिवेशनबाट नरिश्वर शर्मा पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई टोल विकास समितिले खादा तथा मालासहित सम्मान गरेको हो।

You may also like