एक्सट्रीम इनर्जी ड्रिङ्कले बुटवलसहित ९ सहरका १० स्थानमा एनपीएलको निःशुल्क फ्यान जोन राख्न

by समतल अनलाइन
29Shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साह अब रंगशालामा मात्रै सीमित नहुने भएको छ। खेल मैदानमा पुग्न नसक्ने क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर खेलको रोमाञ्च अनुभव गराउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिङ्कले बुटवलसहित देशका विभिन्न सहरमा फ्यान जोन सञ्चालन गर्ने भएको छ।

एनपीएलको तेस्रो संस्करणका खेल देखाउन बुटवलको सिद्धेश्वरी ग्राउन्डसहित नौ सहरका १० स्थानमा ठूला एलईडी स्क्रिन राखिने कम्पनीले जनाएको छ। ती स्थानमा क्रिकेटप्रेमीले निःशुल्क प्रवेश गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्।

कम्पनीका अनुसार फ्यान जोनलाई खेल हेर्ने ठाउँमा मात्रै सीमित नराखी क्रिकेटप्रेमीको भेटघाट, मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारी गरिएको छ। खेलको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र खेलकुद गतिविधि सञ्चालन गरिनेछन्। दर्शकका लागि उपहार जित्ने अवसरसमेत रहनेछ।

बुटवलबाहेक काठमाडौँ उपत्यकाका तीन स्थानमा फ्यान जोन रहनेछन्। त्यस्तै, धनगढी, सुर्खेत, पोखरा, चितवन, जनकपुर र विराटनगरमा पनि दर्शकले ठूलो स्क्रिनमा एनपीएलका खेल हेर्न सक्नेछन्।
एनपीएलप्रति बढ्दो आकर्षणलाई सहरस्तरमै उत्सवका रूपमा विस्तार गर्ने प्रयासस्वरूप फ्यान जोन सञ्चालन गर्न लागिएको हो। आफ्नै सहरमा साथीभाइसँग बसेर मनपर्ने टोलीको समर्थन गर्न पाउने भएपछि बुटवलका क्रिकेटप्रेमीका लागि पनि यो अवसर बन्ने अपेक्षा गरिएको छ।

You may also like