व्यवसायी खत्रीको मृत्यु प्रकरण : अन्तिम फोन संवादपछि रेस्टुरेन्टकी क्यासियर पक्राउ

by समतल अनलाइन
230Shares

विराटनगर । मोरङको केराबारीस्थित धारापानी जङ्गलमा मृत फेला परेका विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले उनकी रेस्टुरेन्टकी क्यासियरलाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो जङ्गलभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेका ५१ वर्षीय खत्रीको मृत्यु प्रकरणमा २७ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरीका आधारमा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताएका छन्।

विराटनगरमा सञ्चालित पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री र पक्राउ परेकी युवतीबीच प्रेम सम्बन्ध रहेको तथा आर्थिक हिनामिनाको विषयमा विवाद भएको दाबीसहित परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

यद्यपि, परिवारले लगाएको आरोप र घटनाको वास्तविकताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार कल विवरण अध्ययन गर्दा शुक्रबार दिउँसो करिब १ बजे खत्रीको मोबाइलमा ती युवतीले फोन गरेको देखिएको छ।

उनीहरूबीच एक मिनेटभन्दा कम समय कुराकानी भएको थियो। फोन संवादपछि खत्री घरबाट स्कुटर लिएर निस्किएका थिए। त्यसपछि उनी घर फर्किएनन्।

खत्री विराटनगर महानगरपालिका–३ का बासिन्दा थिए। उनी घर नफर्किएपछि परिवारका सदस्यले रेस्टुरेन्टकी क्यासियरलाई फोन गरेर खत्रीबारे सोधपुछ गरेका थिए। तर, युवतीले आफू खत्रीसँग नभेटेको र उनी कहाँ गएको भन्ने जानकारी नभएको बताएको प्रहरीको भनाइ छ।

परिवारका सदस्यले खत्री र युवतीबीच भेट भएको, भेटका क्रममा विवाद उत्पन्न भएको र त्यसपछि घटना भएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

प्रहरीले भने उनीहरूबीच वास्तवमै भेट भएको थियो वा थिएन र विवादको दाबीमा कति सत्यता छ भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

झापा घर भएकी पक्राउ परेकी युवती अविवाहित रहेको र खत्री विवाहित रहेको बताइएको छ। खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन्।

उनी छ वर्ष जर्मनी बसेर नेपाल फर्किएका थिए। आर्थिक अवस्था सुधार्ने प्रयासमा दुई वर्ष दुबई बसेर फर्किएपछि उनले विराटनगरको गोल्छा चोक र पिपल चोकमा रेस्टुरेन्ट सञ्चालन गरेका थिए।

शुक्रबारदेखि हराएका खत्रीलाई प्रहरीले शनिबार दिउँसो करिब ३ बजे केराबारीस्थित धारापानी जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको थियो। उनको मृत्युको कारण र घटनासँग सम्बन्धित परिस्थितिबारे अनुसन्धान जारी छ।

प्रहरीले अनुसन्धानबाट पुष्टि नभएका आरोपलाई नै अन्तिम निष्कर्षका रूपमा लिएको छैन।

You may also like