तानसेन । पाल्पाको तानसेन नगरपालिका–७, माडी भ्यू नजिकै मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
केही बेरअघि भएको दुर्घटनामा स्कुटीमा सवार एक महिला र एक पुरुष घाइते भएका हुन् । सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट तानसेनतर्फ आइरहेको स्कुटीलाई तानसेनको बर्तुङबाट तानसेन नगरपालिका–६, कुनसरेतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाइएको छ । घाइते दुवै जना निस्दी गाउँपालिकाका स्थायी बासिन्दा रहेको बताइएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक र दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ । तर, चालकले मदिरा सेवन गरेको वा त्यसकै कारण दुर्घटना भएको भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


