काठमाडौं । नेपालमा एक वर्षको अवधिमा महँगी उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन गुणाभन्दा बढीले वृद्धि हुँदै ६.३४ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको भदौमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्र थियो। एक वर्षमै मुद्रास्फीतिमा भएको यो वृद्धिले उपभोक्ताको दैनिक खर्चमा थप चाप परेको देखाउँछ।
चालु आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत पुगेको छ। यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो।
खाद्यवस्तुतर्फ घ्यू तथा तेलको मूल्य सबैभन्दा बढी बढेको छ। उक्त उपसमूहको वार्षिक मूल्यवृद्धि १६.६८ प्रतिशत पुगेको छ। फलफूलको मूल्य १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको मूल्य ६.७१ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहमा पनि मूल्यवृद्धिको दबाब देखिएको छ। यातायात उपसमूहको मूल्य १२.७७ प्रतिशतले बढेको छ। त्यस्तै, मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ५.४५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
खाद्यान्नदेखि यातायात र घरायसी उपभोगका वस्तुसम्मको मूल्य बढ्दा सर्वसाधारणको दैनिक जीवनयापनको खर्चमा थप भार परेको छ। विशेषगरी खाद्य तथा पेय पदार्थ समूहमा देखिएको उच्च मूल्यवृद्धिले उपभोक्ताको क्रयशक्तिमा दबाब सिर्जना गरेको छ।

