बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट बागलुङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी जिल्लामा ६१ घर तथा गोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छन्। मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्।
बाढीले ५१ घर र १० गोठ पूर्ण रूपमा बगाएको प्रशासनले जनाएको छ। दरमखोलाको कटानका कारण गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगाएको छ। त्यस्तै, तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुई जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा समेत क्षति भएको छ। विपद्का कारण २५६ वटा पशुचौपाया र २१५ वटा कुखुरा मरेका छन्।
निसीखोला गाउँपालिका–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्। सोही क्षेत्रमा चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ।
तमानखोला गाउँपालिका–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नम्बर ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति पुगेको छ भने दुई गोठमा क्षति भएको छ।
ढोरपाटन नगरपालिका–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको छ।
गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एउटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला गाउँपालिकाका वडा नम्बर १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति भएको प्रशासनले जनाएको छ।
प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता छन्। खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको छ।
निसीखोलामा पीडितलाई राहत
बाढीपहिरोबाट प्रभावित परिवारलाई निसीखोला गाउँपालिकाले तत्काल राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित परिवारलाई नगद र खाद्यान्न राहत वितरण गरिएको हो।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका परिवार र जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग प्रदान गरेको छ। मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
निसीखोलामा बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको छ। गाउँपालिकाका अनुसार २४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २१ घर उच्च जोखिममा छन्।
मृतक पाँच जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले नगद राहत प्रदान गरिएको छ। त्यस्तै, घर पूर्ण रूपमा क्षति भएका २४ परिवारलाई ३० हजार र आंशिक क्षति भएका २१ परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

