भैरहवा । करिब रु ३५ अर्ब लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि निजी क्षेत्र चिन्तित बनेको छ।
विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायातलगायत क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। विभिन्न समयमा केही अन्तर्राष्ट्रिय उडान भए पनि ती निरन्तर हुन सकेका छैनन्।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले नयाँ सरकारबाट विमानस्थल सञ्चालनका विषयमा आशा जागेको बताए। उनले कम्तीमा एउटा अन्तर्राष्ट्रिय वायुसेवामार्फत नियमित उडान सुरु गराउन सरकारले पहल गर्नुपर्ने बताए।
पर्यटन व्यवसायी सागर अधिकारीले विमानस्थल सञ्चालनसँगै लुम्बिनीमा पर्यटकको आगमन बढ्ने अपेक्षामा निजी क्षेत्रले ठूलो लगानी गरेको बताए। तर, नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिएको उनको भनाइ छ।
विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन्। यस अवधिमा एक हजार २२२ वटा सेड्युल तथा चार्टर उडान भएका छन्। ती उडानमार्फत ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन्।
पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैंकक–भैरहवा उडान गरेको थियो। त्यसयता विमानस्थलबाट कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन। विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार तत्कालका लागि नयाँ अन्तर्राष्ट्रिय उडानको सेड्युलसमेत प्राप्त भएको छैन।
यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु गरेपछि भैरहवाका व्यवसायीमा पनि गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने अपेक्षा बढेको छ। व्यवसायीले कम्तीमा एउटा अन्तर्राष्ट्रिय वायुसेवाबाट नियमित उडान सुरु गराउन सरकारसँग पहल गर्न माग गरेका छन्।

