काठमाडौं। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ देशभरका विभिन्न भूभागका लागि पाँच दिने विशेष मौसम चेतावनी बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार शुक्रबार रातिदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै बाढी, पहिरोलगायत मौसमजन्य विपद्को जोखिम रहेको छ।
महाशाखाले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आम नागरिक तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार मध्य तथा पूर्वी नेपालका विभिन्न जिल्लामा वर्षाको प्रभाव बढी देखिने प्रक्षेपण गरिएको छ। बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका विभिन्न भूभाग उच्च जोखिमको श्रेणीमा राखिएका छन्।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश जिल्लालाई पनि सतर्क रहनुपर्ने क्षेत्रमा राखिएको छ। मधेस प्रदेशका दक्षिणी तराईका केही भूभाग भने पहिलो दिन सुरक्षित अर्थात् हरियो श्रेणीमा नपरेको महाशाखाले जनाएको छ।
शनिबार देशभर वर्षाको जोखिम थप तीव्र र व्यापक हुने अनुमान गरिएको छ। यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै पहाडी तथा हिमाली जिल्ला उच्च जोखिमको श्रेणीमा रहनेछन्। पश्चिम नेपालका तराई तथा पहाडी क्षेत्रमा पनि सतर्कता आवश्यक हुने जनाइएको छ भने कोशी र मधेस प्रदेशका पूर्वी भूभागमा जोखिम तुलनात्मक रूपमा घट्ने अनुमान गरिएको छ।
आइतबारदेखि मौसम प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै जाने र पूर्वी नेपालमा मौसम सुधार हुँदै जाने संकेत गरिएको छ। उक्त दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी तथा हिमाली भूभाग सतर्कताको अवस्थामा रहनेछन्। बागमती, मधेस तथा मध्य नेपालका केही भूभागमा नियमित निगरानी आवश्यक पर्नेछ भने कोशी प्रदेशका जिल्लाहरू क्रमशः चेतावनीमुक्त अवस्थामा फर्किनेछन्।
सोमबारदेखि भने देशका अधिकांश भूभागमा मौसममा उल्लेख्य सुधार आउने प्रक्षेपण गरिएको छ। सुदूरपश्चिम प्रदेशका उत्तर–पश्चिमी केही जिल्लामा मात्र सतर्कता आवश्यक पर्ने र बाँकी अधिकांश जिल्लामा मौसम सामान्य हुँदै जाने महाशाखाले जनाएको छ।
मंगलबारसम्म देशभरका सबै जिल्ला चेतावनीमुक्त हुने प्रक्षेपण गरिएको छ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार वर्षाको प्रभाव बढी रहने भएकाले नदी तथा खोलानालाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्नेछ। उच्च जोखिमको रातो श्रेणीमा परेका जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन टोलीलाई आवश्यक आपत्कालीन प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ।

