भारी वर्षाका कारण बुटवल–पाल्पा सडकखण्ड राति बन्द

by समतल अनलाइन
38Shares

बुटवल। भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पाल्पाले सूचना जारी गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा खण्डमा बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

कार्यालयका अनुसार असोज ८ गतेदेखि १२ गतेसम्म प्रत्येक दिन राति ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोक लगाइनेछ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार भारी वर्षाका कारण सिद्धबाबा क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेकाले सुरक्षाका लागि रातिको समयमा सडक बन्द गरिएको हो।

सिद्धबाबा क्षेत्रमा बिहीबार पनि पटक–पटक पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अत्यावश्यक कामबाहेक आगामी केही दिन यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

हाल पनि सिद्धबाबा क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङ्जा, पोखरा, बेनी तथा मुस्ताङ जाने–आउने सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

You may also like