मेटाको एक्सन : फेसबुक र इन्स्टाग्रामका ३७ लाखभन्दा बढी ठगीसम्बन्धी अकाउन्टमाथि कारबाही

by समतल अनलाइन
99Shares

एजेन्सी । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीसँगको सहकार्यमा फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।

मेटाका अनुसार सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच पछिल्लो दुई वर्षदेखि ठगी नियन्त्रणका लागि सूचना आदान–प्रदान र सहकार्य हुँदै आएको छ । यही सहकार्यबाट ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी कारबाही गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।

मेटाले जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाएको जनाएको छ । जुन महिनामा मात्रै विद्यालय बिदाका क्रममा सस्तो यात्रा प्याकेज खोज्ने परिवारलाई लक्षित गरी ठगी गर्ने समूहसँग सम्बन्धित ३३ हजार ६ सयभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको थियो ।

त्यस्तै, जुलाईमा मात्रै ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको मेटाले जनाएको छ । तीमध्ये अधिकांश ‘शेल पेज’ अर्थात् हाल सक्रिय नरहेका वा सामग्रीविहीन पेज रहेको कम्पनीले जनाएको छ । यस्ता पेज भविष्यमा अपराधीहरूले खरिद वा कब्जा गरेर ठगीका गतिविधिमा प्रयोग गर्न सक्ने जोखिम भएकाले कारबाही गरिएको मेटाको भनाइ छ ।

मेटाका अनुसार ठगी गर्ने समूहहरूले एउटै समयमा विभिन्न देश र डिजिटल प्लेटफर्ममा गतिविधि सञ्चालन गर्ने भएकाले यस्तो अपराधको सम्पूर्ण जानकारी कुनै एउटा संस्थासँग मात्र नहुने अवस्था छ ।

मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयनसम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यले मेटाको आफ्नै स्रोतबाट तत्काल पहिचान गर्न नसकिने जोखिम र गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको बताए ।

उनका अनुसार प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कमाथि ठूलो स्तरमा कारबाही गर्न सकिएकाले ती समूह धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न सहयोग पुगेको छ ।

मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगी गर्ने समूहहरू पछिल्लो समय औद्योगिक स्तरमा सञ्चालन भइरहेको बताइन् । उनका अनुसार यस्ता समूहले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल निर्माण गर्ने, नक्कली तस्बिर तथा अन्य सामग्री तयार पार्ने र हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छन् ।

मेटाले आफ्ना प्लेटफर्ममा सुरक्षा प्रणालीलाई थप मजबुत बनाउँदै प्रयोगकर्ताले देख्नुअघि नै ठगीसम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ ।

You may also like