१४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई आयोजक समितिमा समेट्छौं : भण्डारी

by समतल अनलाइन
30Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५औँ महाधिवेशनमा जाने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा भण्डारीले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाइने बताए। उनले कांग्रेसभित्र देखिएको पछिल्लो विवाद अन्त्य गर्दै सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको बताए।

कांग्रेस कुनै व्यक्तिको नभई विचार, इतिहास र संगठनमा आधारित पार्टी भएको उल्लेख गर्दै उनले पार्टीभित्र असन्तुष्टि र विवाद देखिए पनि अन्ततः कांग्रेस एक ठाउँमा आउने बताए। भण्डारीले नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भएको बताउँदै कार्यकर्ताले विश्वास गरे वर्तमान सभापति गगनकुमार थापाले पार्टी सञ्चालन गर्ने बताए। यद्यपि, नेताहरू लामो समयसम्म एउटै पदमा रहिरहने प्रवृत्तिमाथि उनले प्रश्न उठाए।

राजनीतिक नेतृत्वले पाएका पद र अवसरलाई जनताको जीवन परिवर्तनमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘पटक–पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि जनताका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायमै छ भने त्यसको औचित्यमाथि प्रश्न उठाउनुपर्छ,’ उनले भने। विगत ३५ वर्षमा केही पनि नभएको भन्ने दाबी सही नभएको भन्दै भण्डारीले सडक, विद्युत्, हाइड्रोपावर, खानेपानी, बजार तथा सुरुङमार्गलगायत पूर्वाधार निर्माण भएको बताए। रसुवाको बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै उनले क्षति पुगेका धेरै हाइड्रोपावर तथा पूर्वाधार पनि पछिल्ला दशकमा निर्माण भएका बताउँदै विकासका उपलब्धिलाई नकार्न नहुने धारणा राखे।

नेपालमा नेतृत्व र राजनीतिक दलले आफूकेन्द्रित सोच त्यागेर ‘मबाट हामी र हामीबाट हाम्रो’ बनाउने दिशामा अघि बढ्नुपर्ने उनले बताए। विगतका राजनीतिक आन्दोलनले लोकतन्त्रका लागि ठूलो त्याग गरे पनि सत्तामा पुगेपछि राजनीति व्यक्ति र परिवार केन्द्रित भएको उनको टिप्पणी थियो। २१औँ शताब्दीका नागरिकको बदलिँदो अपेक्षा बुझेर राजनीतिक दलले आफूलाई सुधार, कार्यसम्पादन र रूपान्तरण गर्नुपर्ने भण्डारीले बताए। नयाँ पुस्ताको असन्तुष्टि र पछिल्ला विद्रोहले राजनीतिक दललाई परिवर्तनसँगै सम्भावित थप अराजकता नियन्त्रण गर्ने जिम्मेवारीसमेत दिएको उनको भनाइ थियो।

You may also like