देउवा पक्षले तोक्यो महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति संयोजक

by समतल अनलाइन
38Shares

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा समूह) ले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी नेता एकराज पोखरेललाई दिने निर्णय गरेको छ।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।

महाधिवेशनमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी पोखरेललाई दिइएको जनाइएको छ।

देउवा समूहले यसअघि नै कांग्रेसको १५औँ महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सोहीअनुसार महाधिवेशनको तयारी अघि बढाइएको समूहको भनाइ छ।

तर, महाधिवेशनको तयारी तीव्र भइरहेका बेला पार्टीभित्र सहमतिको विषय भने पेचिलो बनेको छ। नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम गरेर हुने महाधिवेशनबाहेक अन्य कुनै प्रक्रियामा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।

कोइरालाले कांग्रेस विभाजित अवस्थामा महाधिवेशनमा जानु पार्टीको हितमा नहुने भन्दै आन्तरिक विवाद समाधान गरी सबै पक्षलाई समेटेर एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, देउवा समूहकै नेता पूर्णबहादुर खड्का र उनीनिकट नेताहरू भने संस्थापन पक्षसँग सहमतिको नजिक पुगेको बताइएको छ। खड्का पक्षले महाधिवेशनमा आफ्ना माग र एजेन्डा अघि सार्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।

यसले कांग्रेसको १५औँ महाधिवेशनको तयारी अघि बढे पनि त्यसअघि पार्टीभित्रको आन्तरिक विवाद समाधान र सबै पक्षबीच सहमति जुटाउने विषय मुख्य चुनौतीका रूपमा देखिएको छ।

You may also like