काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्च जोखिममा रहेका हिमतालबाट हुन सक्ने सम्भावित विपद् रोक्न सरकारले आवश्यक तयारी अघि बढाइरहेको बताएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले हिमतालको जोखिम न्यूनीकरणका लागि जलसतह घटाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए। उनका अनुसार अति जोखिमपूर्ण हिमतालको पानीलाई वैज्ञानिक तथा सुरक्षित विधिबाट निकास दिने विषयमा विज्ञहरूसँग छलफल भइरहेको छ।
मन्त्री श्रेष्ठले जोखिममा रहेका केही हिमतालमा आवश्यक प्रक्रिया पूरा गरेर पानीको सतह घटाउने विषयमा छलफल भइरहेको बताए। सम्भावित विपद् आउनुअघि नै जोखिम कम गर्ने उद्देश्यले पूर्वतयारीलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
उनले कुन–कुन हिमतालमा यस्तो काम गर्ने भन्ने विषयमा भने अहिलेसम्म अन्तिम निर्णय भइनसकेको स्पष्ट पारे। विभिन्न विज्ञहरूले जोखिममा रहेका हिमतालको नाम सुझाइरहेको र तिनको अवस्थाबारे अध्ययन भइरहेको उनले बताए।
हिमतालको जोखिमको मात्रा, पानीको सतह, आसपासको भौगोलिक अवस्था तथा सम्भावित क्षतिको मूल्यांकन गरेर मात्रै जलसतह घटाउने निर्णय गरिने मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) बाट प्राप्त सहयोगलाई परिचालन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने काम यसै वर्ष अघि बढाउने तयारी छ।
हिमताल फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिम पहिचान गरी समयमै न्यूनीकरणका उपाय अपनाउनुपर्नेमा सरकारले जोड दिएको छ।
इसिमोड र युएनडीपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त अवस्थामा रहेका छन्। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताललाई अति उच्च जोखिमयुक्त मानिएको छ।

