२९ उपसमिति गठन गर्दै बुटवलमा औद्योगिक व्यापार मेलाको तयारी सुरु

by समतल अनलाइन
47Shares

बुटवल। ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि–पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

आगामी पुस ३ देखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलाको तयारी औपचारिक रूपमा सुरु गरिएको हो। तयारीअन्तर्गत शनिबार प्रदर्शनी स्थलअगाडि मेलाको साइनबोर्ड तथा लोगो अनावरण गरिएको छ। साथै मेला सम्पन्न गर्न गठन गरिएका २९ वटा उपसमितिका संयोजकको नामावलीसमेत सार्वजनिक गरिएको छ।

मेला आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका काम अघि बढाइएको बताए।

स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिइने उल्लेख गर्दै पन्थीले मेलाले औद्योगिक विकास, उद्यमशीलता प्रवद्र्धन, स्वदेशी उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए।

‘मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै बुटवल र रुपन्देहीको औद्योगिक तथा व्यावसायिक वातावरण थप सुदृढ बनाउन भूमिका खेल्नेछ,’ उनले भने, ‘स्वदेशी उत्पादनको बजारीकरणसँगै स्वदेशी वस्तुको उपभोग प्रवद्र्धन गर्ने उद्देश्य पनि मेलाको हो।’

आयातलाई निरुत्साहित गर्दै निर्यात प्रवद्र्धन गर्ने र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्ने लक्ष्यसमेत मेलाले राखेको पन्थीले बताए। मेलामा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुका साथै उद्योग, कृषि, पर्यटन र लगानी प्रवद्र्धनसँग सम्बन्धित सेमिनार, गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

स्वदेश तथा विदेशका उद्योगी, व्यवसायी, कृषक, लगानीकर्ता तथा उपभोक्ताको सहभागिताले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुग्ने आयोजकको विश्वास छ।

मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न २९ वटा उपसमिति गठन गरी तयारी अघि बढाइएको अध्यक्ष पन्थीले बताए। मेला समग्र रुपन्देहीवासीको साझा कार्यक्रम भएकाले सबैको साथ, सहयोग र रचनात्मक सुझाव आवश्यक रहेको उनले बताए।

संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता उपसमिति संयोजक पदम जीसीका अनुसार मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहनेछन्। स्वदेशी उत्पादन, स्थानीय तथा महिला उद्यमीका स्टललाई प्राथमिकता दिइने मेलामा हालसम्म करिब एक सय स्टल बुकिङ भइसकेका छन्।

मेलामा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन्। चारपांग्रे विद्युतीय सवारीसाधनदेखि कृषि, पर्यटन, हस्तकला, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, बैंकिङ तथा निर्माण सामग्रीसम्मका उत्पादन तथा सेवालाई प्रदर्शनीमा समेटिने जीसीले बताए।

उनका अनुसार अटोमोबाइल, होटल तथा रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय उत्पादन, फर्निचर तथा फर्निसिङ, तयारी पोशाक तथा गार्मेन्ट, वित्तीय संस्था, दैनिक उपभोग्य वस्तु, बेकरी, डेरी तथा आइसक्रिम, गिफ्ट तथा खेलौना र जुत्ता–चप्पलका पेभेलियन रहनेछन्।

त्यसैगरी सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, स्वास्थ्य, शैक्षिक संस्था, जडीबुटी, हस्तकला, कुटिर उद्योग, कृषि तथा पशुपालन, घरजग्गा तथा निर्माण सामग्रीलगायतका क्षेत्रका उत्पादनलाई पनि मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ। अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाले उत्पादन गरेका वस्तुलाई समेत प्राथमिकताका साथ समेटिने आयोजकले जनाएको छ।

मेलामार्फत लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको संघका महासचिव विजय आचार्यले बताए।

उत्पादक र उपभोक्ताबीच सम्बन्ध विस्तार, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा कृषि पेशालाई व्यवसायीकरण गर्न उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिने उनले बताए। सूचना प्रविधि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अवसरको खोजी, पर्यटन प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया पनि मेलाका क्रममा आयोजना गरिने आचार्यले जानकारी दिए।

मेलाका आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगितालगायतका सांस्कृतिक कार्यक्रम रहनेछन्। त्यस्तै योग शिविर, रक्तदान, साँझ भजन–कीर्तन तथा आरती, शिव ताण्डव प्रदर्शन, फिस टनेल, जलपरी तथा टिकटक प्रतियोगितासमेत आयोजना गरिनेछ।

१४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने र ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको संघका कोषाध्यक्ष दिलीप शर्माले बताए।

You may also like