बुटवल। लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले बुटवल बसपार्कमा सञ्चालन गर्दै आएको नियमित सरसफाइ अभियानलाई तेस्रो हप्तामा पनि निरन्तरता दिएको छ।
क्लबले एक वर्षभरि हरेक हप्ताको शनिबार बसपार्क तथा आसपासका क्षेत्रमा सरसफाइ गर्ने अभियान सञ्चालन गरेको हो। सार्वजनिक स्थललाई सफा, स्वच्छ र व्यवस्थित बनाउने तथा समुदायमा सरसफाइसम्बन्धी सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा पूर्वअध्यक्ष भण्डारीले सामाजिक सेवाका कार्यक्रमलाई औपचारिकतामा सीमित नगरी नियमित र निरन्तर रूपमा अघि बढाउनुपर्ने बताए।
अध्यक्ष खनालले अभियानलाई एक वर्षसम्म निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै सरसफाइलाई सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
तेस्रो साताको सरसफाइ कार्यक्रममा क्लबका अध्यक्ष लक्ष्मण खनाल, पूर्वअध्यक्ष गोकुल भण्डारीसहित क्लबका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बसपार्क परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै यात्रु तथा सर्वसाधारणलाई सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेका थिए।
हरेक शनिबार गरिने सरसफाइ अभियानले युवालाई सामाजिक सेवासँग जोड्नुका साथै स्वच्छ बुटवल निर्माणमा समेत योगदान पुर्याउने उनको भनाइ थियो
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले आगामी शनिबार पनि बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

