बाणगङ्गा नदीको टापुमा फसेका एक बालकको उद्धार, अर्काको खोजी जारी

by समतल अनलाइन
34Shares

कपिलवस्तु । बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै बेपत्ता छन्।

बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीमा पौडी खेल्न गएका थिए। नदीको बहाव अचानक बढेपछि उनीहरू बीचको टापुमा फसेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको कमान्डमा उद्धार सामग्रीसहित १४ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सिंहका अनुसार १६ वर्षीय रिदम लामाको सकुशल उद्धार गरिएको छ।

तर, उद्धार टोली घटनास्थलमा पुग्दा १० वर्षीय बुद्ध लामा फेला नपरेपछि उनको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

You may also like