45
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका मासु पसलमा अनुगमनलाई तीव्र बनाएको छ। नगरपालिकाको टोलीले भलवारीदेखि मणिग्रामसम्म सञ्चालनमा रहेका पाँच वटा मासु पसलको अनुगमन गरेको हो।
अनुगमनका क्रममा मणिग्रामस्थित कुरैसी मासु पसलबाट २७ किलो खान अयोग्य मासु बरामद गरिएको नगरपालिकाले जनाएको छ। बरामद गरिएको मासु तत्काल जफत गरी नष्ट गरिएको छ।
खान अयोग्य मासु बिक्रीका लागि राखिएको पाइएपछि नगरपालिकाले पसल सञ्चालकलाई १० हजार रुपैयाँ जरिबानासमेत गरेको जनाएको छ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै मासु पसलहरूको अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

