तीजको खुसी बोकेर माइती जाँदै गरेकी जीताको बाटोमै मृत्यु, दुपट्टा मोटरसाइकलको चक्कामा बेरिँदा दुर्घटना

by समतल अनलाइन
81Shares

दाङ । दाङको शान्तिनगरकी ३५ वर्षीया जीता केसीका लागि यस वर्षको तीज विशेष थियो। वर्षभरिको व्यस्तता र थकान बिर्सिएर माइतीको आँगनमा पुग्ने, दाजुभाइ तथा साथीभाइसँग खुसी साट्ने उनको योजना थियो। त्यही खुसी बोकेर उनी भदै कृष्ण केसीसँग मोटरसाइकलमा सल्यानतर्फ जाँदै थिइन्।

रा\.४ प २४३ नम्बरको मोटरसाइकलमा कृष्णले चलाइरहेका थिए भने जीता पछाडि बसेकी थिइन्। सल्यानको त्रिवेणी गाउँपालिका–५ अन्तर्गत टाट्केको कच्ची तथा ओरालो सडकमा मोटरसाइकल अघि बढिरहेका बेला अचानक जीताले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिन पुग्यो।

चक्कामा बेरिएको दुपट्टा घुम्दै कसिँदै जाँदा जीतालाई मोटरसाइकलबाट सडकमा खसाल्यो। त्यसपछि पनि मोटरसाइकल केही परसम्म गुडिरहँदा दुपट्टाले उनलाई सडकमा लतार्दै लगेको प्रहरीले जनाएको छ।

घटना थाहा पाएपछि मोटरसाइकल रोकियो र घाँटीमा कसिएको दुपट्टा काटेर उनलाई उद्धार गर्ने प्रयास गरियो। तर त्यतिबेलासम्म उनको अवस्था गम्भीर भइसकेको थियो।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएपछि तानिँदा जीता मोटरसाइकलबाट पल्टिएकी थिइन्। सडकमा लतारिएपछि उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

तीजको खुसीका लागि माइतीतर्फ हिँडेकी जीताको यात्रा भने त्यही कच्ची सडकमा पुगेर टुंगियो। माइतीको आँगनमा छोरी आउने प्रतीक्षामा रहेका आफन्तले खुसीको स्वागत गर्न नपाउँदै उनको मृत्युको खबर सुन्नुपर्‍यो।

कपडा वा दुपट्टा मोटरसाइकल तथा अन्य दुईपांग्रे सवारीसाधनको चक्कामा बेरिन सक्ने जोखिमबारे पटक–पटक सचेत गराइँदै आए पनि सामान्य सावधानीको अभावले ज्यानै जाने घटना दोहोरिँदै आएका छन्। जीताको घटनाले पनि मोटरसाइकलमा यात्रा गर्दा लामो कपडा तथा दुपट्टा सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई फेरि सम्झाएको छ।

You may also like