काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिइन्। ग्यास आपूर्तिमा कर्मचारीले असहयोग गरेको आरोप लगाउनुका साथै व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ जस्तो विवादास्पद अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना खेपेकी यादवले अन्ततः राजीनामा दिएकी हुन्।
यादव उद्योगमन्त्री बनेसँगै मुलुकमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेको थियो। यद्यपि, भन्सार विभागको तथ्यांकले पछिल्ला महिनामा विगतको तुलनामा ग्यास आयात तथा आपूर्ति बढ्दै गएको देखाउँछ। पर्याप्त आपूर्ति हुँदाहुँदै बजारमा अभाव देखिएपछि ग्यास वितरण प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ।
ग्यास अभाव समाधान गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेकी पूर्वमन्त्री यादवले आफ्नै कर्मचारी र व्यवसायीलाई लक्षित गरी दिएको अभिव्यक्तिका कारण थप विवादमा परिन्। यहीबीच उनले राजीनामा दिएपछि सरकारले ग्यासको आपूर्ति र बिक्री वितरणमा अनियमितता भएको आशंकामा अनुसन्धान तथा कारबाही तीव्र बनाएको छ।
सरकारी निकाय र प्रहरीले थालेको पछिल्लो कारबाहीले बजारमा ग्यास लुकाएर राख्ने तथा कालोबजारी गर्ने गरिएको हुनसक्ने आशंका थप बलियो बनाएको छ।
उपत्यकाबाट एक हजारभन्दा बढी सिलिन्डर बरामद
शुक्रबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट र सामाखुसीका ग्यास बिक्री केन्द्रबाट लुकाएर राखिएका ३७२ थान सिलिन्डर बरामद गरेको छ।
प्रहरीले नरेफाँटस्थित रामेछाप ब्रान्ड ग्यास डिलरका सञ्चालक तथा बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
त्यसैगरी, प्रहरीले तीनकुनेस्थित गैरीगाउँबाट दुईवटा ट्रकमा लोड गरेर राखिएको अवस्थामा थप ७ सय थान ग्यास सिलिन्डर बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालकलाई समेत पक्राउ गरेको छ।
यसअघि बिहीबार पनि प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ थान ग्यास सिलिन्डर बरामद गरेको थियो।
दुई व्यवसायीलाई ६ लाख जरिवाना
उद्योग, वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य असुलेको तथा मिलेमतोमा ग्यास बिक्री गरेको आरोपमा दुई व्यवसायीलाई ६ लाख रुपैयाँ जरिवाना गरेको छ।
शुक्रबार विभागको अनुगमन टोलीले काठमाडौंको कागेश्वरी मनोहरा–६ स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारीस्थित एक ग्यास पम्पलाई जनही ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
सरकारी निकायले ग्यास बिक्री तथा वितरणमा निगरानी बढाएपछि बजारमा ग्यास अभावको वास्तविक कारणबारे थप अनुसन्धान आवश्यक देखिएको छ।
नयाँ मन्त्रीले थाले उद्योगीसँग छलफल
शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले ग्यासको आपूर्ति सहज बनाउने विषयमा उद्योगीहरूसँग छलफल गरेका छन्। मन्त्रीको शपथ लिएलगत्तै उनले उपभोक्ताले सहज रूपमा ग्यास पाउनुपर्ने बताएका थिए।
मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै उपभोक्ताले अनावश्यक दुःख नपाउने वातावरण बनाउन पहल गर्ने संकेत गरेका छन्।
बढी मूल्य नलिन महासंघको आग्रह
प्रहरी र विभागले अनुसन्धान तथा कारबाही अघि बढाएपछि ग्यास बिक्रेता महासंघले पनि व्यवसायीलाई उपभोक्ताबाट अनावश्यक रूपमा बढी मूल्य नलिन आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै सरकारले तोकेको बिक्री मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
पछिल्लो समय एकातर्फ ग्यासको आपूर्ति बढेको तथ्यांक सार्वजनिक भइरहेका बेला अर्कोतर्फ बजारमा अभाव देखिनु र ठूलो संख्यामा सिलिन्डर लुकाएर राखिएको अवस्थामा बरामद हुनुले ग्यास वितरण प्रणालीमा गम्भीर अनियमितता हुनसक्ने आशंका बढाएको छ।

