रुपन्देहीमा मापदण्ड पूरा गरेका प्रतिष्ठानलाई रात्रिकालीन बजार सञ्चालन अनुमति दिने सहमति

by समतल अनलाइन
47Shares

बुटवल । रुपन्देहीमा रात्रिकालीन बजार सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरेका व्यावसायिक प्रतिष्ठानलाई अनुमति दिने सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको संयोजनमा बसेको सरोकारवाला तथा प्रशासनिक निकायका प्रमुखहरूको छलफलले जिल्लाका विभिन्न क्षेत्रमा बजारलाई चलायमान बनाउन रात्रिकालीन बजार सञ्चालन आवश्यक रहेको निष्कर्ष निकालेको हो।

छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुरक्षाको कारण देखाउँदै बजार साँझमै बन्द गराउँदा बुटवलको आर्थिक गतिविधि प्रभावित हुने बताए। उनले बजार एकपटक सुकेपछि पुनः चलायमान बनाउन कठिन हुने भन्दै रात्रिकालीन बजार सञ्चालनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायसँग आग्रह गरे।

प्रमुख पाण्डेले बुटवलका कालिकापथ, राजमार्ग चौराहा र हस्पिटल लाइन क्षेत्रलाई पूर्ण रात्रिकालीन बजारका रूपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताए। उनका अनुसार बुटवलका अन्य क्षेत्रमा भने राति ११ बजेसम्म बजार सञ्चालन गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ।

त्यस्तै, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरका सबै क्षेत्रमा राति १ बजेसम्म बजार सञ्चालन गर्ने तयारी भइरहेको बताए। उनले त्यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रशासन तथा सुरक्षा निकायसँग आग्रह गरे।

“तिलोत्तमा नगरका सबै क्षेत्रमा राति १ बजेसम्म बजार खुलाउनेगरी नगरपालिकाले तयारी गरेको छ। सुरक्षा निकायले आवश्यक सहयोग गर्नुपर्छ,” प्रमुख खाणले भने।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटकीय नगरीका रूपमा स्थापित भैरहवामा रात्रिकालीन बजारलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। उनले रात्रिकालीन बजारले पर्यटन तथा व्यवसायिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउने बताए।

छलफलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि, होटल व्यवसायी, पर्यटन व्यवसायीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

बैठकले गृह मन्त्रालयले जारी गरेको रात्रिकालीन बजार सञ्चालनसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेका व्यावसायिक प्रतिष्ठानलाई तत्काल अनुमति दिने निर्णयसमेत गरेको छ।

रुपन्देही प्रहरी प्रमुख जनक शाहीले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन स्मार्ट कन्ट्रोल रुम स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार असोजको पहिलो सातादेखि सीआईबी भेइकल सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

करिब अढाई घण्टासम्म चलेको छलफलमा सहभागीहरूले रात्रिकालीन बजार सञ्चालनको आवश्यकता, यसबाट हुने आर्थिक तथा पर्यटनसम्बन्धी फाइदा, सम्भावित चुनौती र सुरक्षा व्यवस्थालगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

You may also like