सेवा अवधि बाँकी छँदै राजीनामा दिने बढे, थप दुई सहसचिवले दिए राजीनामा,६ महिनामा करिब ५ सय कर्मचारीले छाडे सेवा

by समतल अनलाइन
33Shares

काठमाडौं । निजामती सेवाबाट कर्मचारीले राजीनामा दिने क्रम बढिरहेका बेला थप दुई सहसचिवले सेवाबाट अलग हुने निर्णय गरेका छन्।

लुम्बिनी प्रदेश लोकसेवा आयोगका सचिव खिमबहादुर रायमाझी र आदिवासी जनजाति आयोगमा कार्यरत सहसचिव प्रदीपराज अधिकारीले राजीनामा दिएका हुन्।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले राजीनामा दिएको विषय सेलाउन नपाउँदै थप दुई सहसचिवले पनि सेवा छाड्ने निर्णय गरेका हुन्।

लुम्बिनी प्रदेश लोकसेवा आयोगका सचिव रायमाझीको अनिवार्य अवकाश हुन तीन महिनाभन्दा बढी समय बाँकी थियो। उनी आगामी पुस ८ गते अनिवार्य अवकाशमा जाने भए पनि त्यसअघि नै राजीनामा दिएका हुन्। रायमाझीको राजीनामापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शम्भु मरासिनीलाई प्रदेश लोकसेवा आयोगको सचिवका रूपमा खटाएको छ।

त्यस्तै, आदिवासी जनजाति आयोगमा कार्यरत सहसचिव अधिकारीले ५८ वर्षे उमेर हद पुग्न अझै करिब १० वर्ष बाँकी छँदै स्वैच्छिक अवकाश रोजेका छन्। उनको राजीनामा महिला मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुगेको छ।

६ महिनामा करिब ५ सय कर्मचारीले छाडे सेवा

पछिल्लो समय निजामती सेवामा कार्यरत कर्मचारीले सेवा अवधि पूरा हुनुअघि नै राजीनामा दिने क्रम बढेको देखिएको छ। उपलब्ध तथ्यांकअनुसार गत चैत दोस्रो सातादेखि भदौ दोस्रो सातासम्मको करिब ६ महिनाको अवधिमा सहायकस्तरदेखि सचिवसम्मका झन्डै ५ सय कर्मचारीले राजीनामा दिएका छन्।

राजीनामा दिनेमा सेवा अवधि केही दिन मात्र बाँकी रहेका कर्मचारीदेखि अझै १५ वर्षसम्म सेवा गर्न बाँकी रहेका कर्मचारीसमेत छन्।

उक्त अवधिमा ५ जना सचिव, ७० जना सहसचिव र ६५ जना उपसचिवले राजीनामा दिएका छन्। सचिवतर्फ डा. गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायतले सेवा छाडेका छन्।

सञ्चार मन्त्रालयमा हाजिर भएको दुई दिनमै राजीनामा दिएका सचिव डा. पोखरेलको सेवा अवधि अझै १३ महिना बाँकी थियो। त्यस्तै, डा. गोविन्द शर्माले अनिवार्य अवकाश पाउन २० दिन बाँकी छँदै राजीनामा दिएका थिए।

सहसचिवतर्फ लेखनाथ ज्ञवाली, विनोद लामिछाने, चन्द्रबहादुर शिवाकोटी, शिवादेवी दाहाल, लोकप्रसाद न्यौपाने, टेकनारायण पौडेल, गोपी कोइराला र प्रभात झा लगायतले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका छन्। सहसचिव प्रभात झाले मात्रै अझै करिब १५ वर्ष सेवा अवधि बाँकी छँदै राजीनामा दिएका हुन्।

त्यस्तै, उपसचिवतर्फ भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुकारलगायतले सेवा छाडेका छन्।

यसका अतिरिक्त शाखा अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटरलगायत विभिन्न तहका कर्मचारीले समेत पछिल्लो समय निजामती सेवा छाडेका छन्।

You may also like