बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।
बेपत्ता भएका इन्जिनियर दम्पतीका आफन्ती विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए ।
यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

