६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

by समतल अनलाइन
36Shares

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा भण्डारण गरिएका ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।

ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा धेरै भोज तथा कार्यक्रम हुने भएकाले ग्यास आवश्यक पर्ने भन्दै आफू चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका छन्। स्थानीय प्रशासनको अनुरोधपछि आवश्यक परेका सर्वसाधारणलाई उक्त ग्यास वितरण गरिएको उनले जानकारी दिए।

यसैबीच, जिल्ला प्रहरीले ग्यासको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–२, इटाछेका ४१ वर्षीय राजेश कर्मचार्यलाई १४ वटा सगर ग्यास सिलिन्डरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका साहले प्रतिसिलिन्डर दुई हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरिएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अवैध भण्डारण गर्ने गतिविधिमाथि अनुगमनलाई थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

You may also like