काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई विनियमावलीअनुसार उपचार खर्च र क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) विद्युत् दुर्घटनामा परी घाइते भएका थिए।
मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा २०८२ चैत ११ गते करेन्ट लागेर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।
विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति तथा उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेस्कीका रूपमा लिइसकेका छन्। अब उपचार खर्चबापतको बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए।

